काठमाडौं, चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड ‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ बाट सम्मानित भएको छ । अस्ट्रेलियाको सिड्नीमा आयोजित विश्व ऋण परिषद (ओकू) को साधारणसभाका अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो । डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत सदस्यलाई सहज, छरितो तथा गुणस्तरीय सेवा उपलब्ध गराउँदै संस्थागत सञ्चालनलाई प्रविधिमैत्री बनाएको योगदानको कदर स्वरूप चन्द्रागिरी साकोसलाई सम्मान प्रदान गरिएको परिषदले जनाएको छ ।
उक्त सभामा नेपालबाट चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णकुमार श्रेष्ठले पुरस्कार लिएका थिए । सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाको समेत उपस्थिति रहेका थियो । चन्द्रागिरि सहकारीले सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरी उक्त अवार्ड प्राप्तिको बारेमा जानकारी गराएको छ । सहकारीका सीईओ कृष्णकुमार श्रेष्ठले सहकारीले प्रविधि जोडेर गरेको कामको मूल्यांकन गरी उक्त अवार्ड प्राप्त गर्न सफल भएको बताए ।
कार्यक्रममा नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सहकारीलाई लिएर नराम्रो धारणा बनेको अवस्थामा यस्तो अवार्डले राम्रा सहकारी रहेको भन्ने सन्देश प्रवाह गर्न सफल भएको बताए । कार्यक्रममा नेफस्कुनका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा प्रविधिमैत्री सहकरीको आवश्यकता रहेको बताए ।