काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेर छुट्टै राजनीतिक अभियान सञ्चालन गर्दै आएका डा. धवल शमशेर जबरा र अभियन्ता दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गरेका छन्।
उनीहरूले नयाँ दलको नाम ‘जय नेपाल पार्टी’ राखेका छन्। पार्टीको सभापतिको जिम्मेवारी डा.धवल शमशेर जबराले सम्हाल्ने भएका छन् भने दुर्गा प्रसाईं सर्वोच्च नेताको भूमिकामा रहने जनाइएको छ।
नयाँ दललाई वैधानिक मान्यता दिलाउन उनीहरूले आगामी साउन २८ गते निर्वाचन आयोग मा दल दर्ताका लागि निवेदन दिने तयारी गरेका छन्। राप्रपा परित्याग गरेपछि छुट्टै राजनीतिक अभियान सञ्चालन गर्दै आएका जबरा र प्रसाईंले नयाँ पार्टीमार्फत आफ्नो राजनीतिक यात्रा अघि बढाउने बताएका छन्। पार्टीका नीति, कार्यक्रम तथा संगठनात्मक संरचनाबारे भने विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेको छ।