काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले साढे चार करोड रुपैयाँभन्दा बढी बिगो रहेको बैंकिङ कसुरका फरार प्रतिवादीलाई पक्राउ गरेको हो । विभिन्न प्रहरी कार्यालयमा दर्ता भएका बैंकिङ कसुर तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरका मुद्दामा फरार रहेका प्रतिवादीलाई अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको कार्यालयको भनाइ छ ।
कार्यालयका अनुसार पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१४ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–८ तीज विनायक बस्ने २४ वर्षीय सन्तोष प्रधान रहेका छन् । उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा ललितपुर जिल्ला अदालतले २०८२ असोज १३ गते गरेको फैसलाअनुसार २ दिन कैद, १० लाख रुपैयाँ बिगोमा ५ प्रतिशतका दरले हुने ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो। अदालतको आदेशपछि फरार रहेका प्रधानलाई प्रहरीले काठमाडौं महानगरपालिका–१९, गोङ्गबुबाट पक्राउ गरी २०८३ साउन १५ गते फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका प्रधानविरुद्ध विभिन्न प्रहरी कार्यालयमा छवटा मुद्दा दर्ता रहेका छन् । तीमध्ये जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त बौद्ध, प्रहरी वृत्त नयाँ बानेश्वर, जिल्ला प्रहरी परिसर भक्तपुर तथा प्रहरी वृत्त जनसेवामा बैंकिङ कसुर र बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरका मुद्दा दर्ता भएका छन् । ती मुद्दाहरूमा क्रमशः १० लाख, आठ लाख, पाँच लाख, नौं लाख, एक करोड २५ लाख ५२ हजार तीन सय ३६ रुपैयाँ र दुई करोड ९४ लाख ५२ हजार रुपैयाँ बिगो दाबी गरिएको प्रहरीले जनाएको छ । यससँगै उनीविरुद्ध रहेको कुल बिगो रकम चार करोड ५२ लाख ५८ हजार तीन सय ३६ रुपैयाँ पुगेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फरार प्रतिवादीहरूको खोजी तथा अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखेर अभियानलाई निरन्तरता दिएको जनाएको छ । प्रहरीले अदालतबाट सजाय तोकिएपछि फरार रहेका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने कार्यलाई थप प्रभावकारी बनाइने पनि उल्लेख गरेको छ ।