नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापासहित पाँच जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जग्गा खरिदका क्रममा अनियमितता तथा ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।
सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार अनुसन्धानका क्रममा पूर्वअध्यक्ष थापासहित तत्कालीन पदाधिकारीलाई पक्राउ गरिएको हो।पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–३ स्थायी ठेगाना भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्ने ७० वर्षीय सञ्जीव थापा, मध्यपुर थिमी नगरपालिका–३ निकोसेरा बस्ने ५२ वर्षीय राजेश देशमरू, नुवाकोटको समुन्द्रटार–६ स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका–२६ बस्ने ५७ वर्षीय उमेशप्रसाद ढकाल, भक्तपुरको चाँगुनारायण नगरपालिका–५ बस्ने ५८ वर्षीय मदनकृष्ण फोजु र काठमाडौं महानगरपालिका–१६ का ६७ वर्षीय इन्द्रबहादुर केसी रहेका छन्।
सीआईबीका अनुसार उनीहरूमाथि नेपाल रेडक्रस सोसाइटीका लागि जग्गा खरिद गर्ने क्रममा अनियमितता गरी ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ। पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।