काठमाडौं, नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइलको नामसारी प्रक्रिया अनलाइनबाटै गर्न सकिने व्यवस्था गरेको छ । नयाँ व्यवस्थाअनुसार ग्राहकले नामसारीका लागि आवश्यक विवरण अनलाइनमा भरेपछि दस्तुर बुझाउन र अन्तिम प्रमाणीकरणका लागि मात्र नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा उपस्थित हुनुपर्नेछ ।
टेलिकमका अनुसार ग्राहकले कस्टमर लगइन पोर्टलमार्फत मोबाइल नम्बर राखेर ओटीपी प्राप्त गरेपछि हालका ग्राहक र नामसारी हुने नयाँ ग्राहकको व्यक्तिगत विवरण भर्न सक्नेछन् । त्यस क्रममा पछिल्लो एक महिनामा कल गरिएका पाँचवटा मोबाइल नम्बरसमेत उपलब्ध गराउनुपर्नेछ । अनलाइनमार्फत विवरण भरेपछि नामसारीका लागि आवश्यक दस्तुर बुझाई सक्कल नागरिकतासहित कार्यालयमा उपस्थित भएर अन्तिम प्रमाणीकरण गर्न सकिने कम्पनीले जनाएको छ ।
कार्यालयमा स्वयं उपस्थित हुन नसक्ने ग्राहकले प्रतिनिधिमार्फत समेत अन्तिम प्रमाणीकरण गराउन सक्नेछन् । नेपाल टेलिकमले अनलाइनबाट आवश्यक विवरण पहिले नै भर्न सकिने भएकाले पोस्टपेड सिम नामसारी प्रक्रिया थप सहज र छिटो हुने अपेक्षा गरेको छ । हाल यो सुविधा व्यक्तिगत ग्राहकका लागि मात्र उपलब्ध रहेको नेपाल टेलिकमले जनाएको छ । कर्पोरेट ग्राहकले भने नामसारीका लागि सम्बन्धित कार्यालयमै उपस्थित हुनुपर्नेछ ।