नेपालको अर्थतन्त्रमा पर्यटन केवल आम्दानीको स्रोत होइन, रोजगारी, स्थानीय विकास र अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने महत्वपूर्ण आधार हो । हिमाल, पहाड, जैविक विविधता र मौलिक संस्कृतिले नेपाललाई विश्वकै आकर्षक गन्तव्य बनाएका छन् । तर यही प्राकृतिक सम्पदालाई व्यवस्थित संरक्षण र दिगो पर्यटनसँग जोड्न नसक्दा हाम्रो ठूलो सम्भावना विस्तारै चुनौतीमा परिणत हुँदै गएको छ ।
सगरमाथा र अन्नपूर्णको देशमा गम्भीर प्रश्न
विश्व मानचित्रमा नेपाल भन्नासाथ हिमाल, पहाड, हरियाली र रोमाञ्चक पदयात्राको तस्बिर आँखामा आउँछ । सगरमाथा, अन्नपूर्ण, मनास्लु, लाङटाङलगायत विश्वप्रसिद्ध पदमार्गले नेपाललाई साहसिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गरेका छन् । प्रकृतिसँग नजिक हुँदै हिमालको काखमा हिँड्ने अनुभवका लागि संसारका विभिन्न मुलुकबाट पर्यटक नेपाल आउँछन् ।
पदयात्रा पर्यटन नेपालको पर्यटन उद्योगको एउटा महत्वपूर्ण आधार हो । यसले ठूला सहरमा मात्र होइन, दुर्गम हिमाली तथा पहाडी गाउँसम्म आर्थिक गतिविधि पुर्याउँछ । होटल, लज, भरिया, गाइड, यातायात, कृषि, हस्तकला र स्थानीय सेवामा रोजगारी सिर्जना गर्छ । त्यसैले एउटा पर्यटकको पाइला हिमालमा मात्र पर्दैन, त्यसको आर्थिक प्रभाव गाउँको घरदैलोसम्म पुग्छ ।
तर विडम्बना के छ भने, जुन प्रकृतिको काखमा रमाउन पर्यटक हजारौँ रूपैयाँ वा डलर खर्च गरेर नेपाल आउँछन्, त्यही पदमार्ग आज अव्यवस्था, फोहोर, जथाभावी सडक निर्माण, कमजोर पूर्वाधार र अपर्याप्त सुरक्षाका कारण संकटमा पर्दैछन् । विकासको नाममा पदमार्गको मौलिकता नष्ट हुँदैछ । कतिपय ठाउँमा पर्यटक पैदल हिँड्नुपर्ने बाटोमै धुलो उडाउँदै मोटर गुड्छन् । कतै फोहोरको थुप्रो देखिन्छ, कतै सुरक्षित विश्रामस्थल र उद्धार सेवाको अभाव छ । प्रश्न अब यति मात्र होइन कि पर्यटक नेपाल आउँछन् कि आउँदैनन् । प्रश्न यो हो; के हामीले नेपालमा आउने पर्यटकलाई फेरि नेपाल फर्किन चाहने अनुभव दिइरहेका छौँ?
‘अर्ग्यानिक ट्रेकिङ’ हराउँदै, मोटर बाटो बढ्दै
पदयात्राको मूल आकर्षण नै प्रकृतिको शान्त वातावरणमा पैदल हिँड्नु हो । बाटोमा भेटिने गाउँ, स्थानीय संस्कृति, वनजंगल, हिमाल र स्थानीय जनजीवनसँग प्रत्यक्ष साक्षात्कार गर्नु पदयात्राको वास्तविक आनन्द हो । तर पछिल्लो समय विकासका नाममा जथाभावी सडक निर्माणले धेरै पदमार्गको मौलिकता खोसेको छ । अन्नपूर्ण क्षेत्रका विभिन्न भागदेखि अन्य पहाडी तथा हिमाली रुटसम्म सडक विस्तार हुँदै जाँदा कतिपय ठाउँमा पैदलयात्रीले हिँड्ने बाटो नै मोटरबाटोमा परिणत भएको छ ।
सडक आवश्यक पूर्वाधार हो । दुर्गम गाउँमा सडक पुग्नु विकासको महत्वपूर्ण उपलब्धि हो । तर सडक बनाउने नाममा पदयात्राको मौलिक बाटो नै समाप्त पार्नु बुद्धिमानी होइन । सडक र पदमार्गलाई एउटै कुरा ठान्नु विकासको गलत अवधारणा हो । जहाँ मोटरबाटो आवश्यक छ, त्यहाँ सडक बनाऔँ; तर पदयात्राको सम्भावना भएका क्षेत्रमा छुट्टै सुरक्षित र प्राकृतिक पदमार्ग जोगाऔँ । पर्यटकले जिपमा बसेर हिमाल हेर्न होइन, प्रकृतिसँग पैदल संवाद गर्न नेपाल रोजेका हुन् ।
हिमालको काखमा फोहोरको प्रश्न
नेपालका हिमाली क्षेत्रको अर्को गम्भीर समस्या फोहोर व्यवस्थापन हो । प्लास्टिकका बोतल, चाउचाउका खोल, खाद्य प्याकेट, क्यान तथा अन्य फोहोर पदमार्ग आसपास देखिनु असामान्य हुन थालेको छ । पर्यटकको संख्या बढ्नु आफैँमा समस्या होइन । समस्या भनेको पर्यटकको संख्या बढेसँगै फोहोर व्यवस्थापनको क्षमता नबढ्नु हो । विशेषगरी आधार शिविर, लोकप्रिय विश्रामस्थल र भीडभाड हुने पदमार्गमा फोहोर संकलन, वर्गीकरण, ढुवानी र पुनःप्रयोगको व्यवस्थित प्रणाली आवश्यक छ । हिमाली क्षेत्रमा फोहोर जलाउने वा जथाभावी फाल्ने अभ्यासले वातावरणमा थप असर पुर्याउँछ ।
नेपालको हिमाली इकोलोजिकल प्रणाली अत्यन्त संवेदनशील छ । जलवायु परिवर्तनको प्रभावसँगै मानव सिर्जित प्रदूषण थपिँदा जोखिम अझ गम्भीर हुन्छ । हिमालको सौन्दर्य बेचेर पर्यटनको आम्दानी गर्ने तर त्यही हिमाललाई फोहोरले कुरूप बनाउने प्रवृत्तिले अन्ततः पर्यटनलाई नै क्षति पुर्याउँछ ।
शुल्क महँगो, सेवा कमजोर
पर्यटकले विभिन्न अनुमति, प्रवेश तथा संरक्षण शुल्क तिर्छन् । तर त्यसको प्रत्यक्ष प्रतिफलका रूपमा उनीहरूले पाउने सेवा र पूर्वाधार सधैँ सन्तोषजनक छैनन् । कतिपय पदमार्गमा स्पष्ट संकेत बोर्डको अभाव छ । मौसम खराब हुँदा वा बाटो परिवर्तन हुँदा पर्यटकले सहज रूपमा सही दिशा पहिचान गर्न कठिनाइ भोग्न सक्छन् । विश्रामस्थल, सार्वजनिक शौचालय, खानेपानी, सञ्चार तथा आपत्कालीन सेवाको अवस्था पनि सबै रुटमा समान छैन ।
उच्च हिमाली क्षेत्रमा स्वास्थ्य सुरक्षा अर्को संवेदनशील विषय हो । उचाइसँग सम्बन्धित स्वास्थ्य समस्या, दुर्घटना वा अचानक मौसम परिवर्तन हुँदा तत्काल सहायता उपलब्ध गराउने संयन्त्र बलियो हुनुपर्छ । उद्धार प्रणाली भरपर्दो, पारदर्शी र पर्यटकमैत्री हुनुपर्छ । पर्यटनको अर्थ केवल पर्यटकबाट शुल्क उठाउनु होइन । शुल्कसँगै गुणस्तरीय सेवा, सुरक्षा र व्यवस्थित पूर्वाधार उपलब्ध गराउनु पनि राज्यको जिम्मेवारी हो । त्यसैगरी, पदमार्गमा वस्तु तथा सेवाको मूल्य निर्धारणमा पनि पारदर्शिता आवश्यक छ । दुर्गम क्षेत्रमा ढुवानी लागत बढी हुनु स्वाभाविक हो, तर पर्यटकलाई अस्वाभाविक मूल्य असुल्ने प्रवृत्तिले नेपालको पर्यटन छविलाई नकारात्मक असर पार्न सक्छ ।
जलवायु परिवर्तनले थपेको जोखिम
ट्रेकिङ रुटको चुनौती केवल मानव गतिविधिबाट उत्पन्न भएको छैन । जलवायु परिवर्तनले पनि हिमाली पर्यटनको भविष्यमा नयाँ जोखिम थपेको छ । मौसमको अनिश्चितता, बेमौसमी वर्षा, पहिरो, हिमपहिरो, हिमनदीमा हुने परिवर्तन तथा अचानक बाढीका घटनाले पुराना पदमार्गलाई जोखिमपूर्ण बनाइरहेका छन् । हिजो सुरक्षित मानिएको बाटो भोलि जोखिमपूर्ण हुन सक्छ । त्यसैले अब ट्रेकिङ रुटको विकास केवल बाटो बनाउने विषयमा सीमित हुनु हुँदैन । वैज्ञानिक जोखिम मूल्यांकन, मौसम सूचना, डिजिटल नक्सांकन, आपत्कालीन सञ्चार र नियमित सुरक्षा परीक्षणलाई पदयात्रा व्यवस्थापनको अभिन्न अंग बनाउनुपर्छ ।
नेपालले नयाँ पदमार्गको पहिचान र प्रवद्र्धनमा पनि ध्यान दिन आवश्यक छ । केही चर्चित रुटमा अत्यधिक दबाब पर्ने र अन्य सम्भावनायुक्त क्षेत्र उपेक्षित रहने अवस्था दीर्घकालीन रूपमा उचित हुँदैन । पर्यटनलाई केही सीमित गन्तव्यमा केन्द्रित गर्नुको सट्टा नयाँ गन्तव्य विकास गरी पर्यटकको प्रवाहलाई सन्तुलित बनाउन सकिन्छ ।
पदमार्ग बचाउने जिम्मेवारी कसको?
पदमार्ग संरक्षण केवल सरकार वा पर्यटन व्यवसायीको मात्र जिम्मेवारी होइन । यो स्थानीय समुदाय, पर्यटक, व्यवसायी र राज्य सबैको साझा दायित्व हो ।
सबैभन्दा पहिले सडक र पदमार्गको स्पष्ट विभाजन आवश्यक छ । जहाँ सडक पुगेको छ, त्यहाँ पनि सम्भव भएसम्म सुरक्षित वैकल्पिक पदमार्ग विकास गर्नुपर्छ । पैदलयात्रीलाई मोटरबाटोसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ ।
दोस्रो, फोहोर व्यवस्थापनलाई अनिवार्य प्रणाली बनाउनुपर्छ । प्लास्टिकको प्रयोग घटाउने, फोहोर फिर्ता लैजाने व्यवस्था गर्ने, प्रवेश शुल्कसँगै वातावरणीय व्यवस्थापन शुल्क लिने र त्यसको रकम पारदर्शी रूपमा स्थानीय संरक्षणमा खर्च गर्ने नीति आवश्यक छ ।
तेस्रो, स्वास्थ्य तथा उद्धार प्रणालीलाई आधुनिक बनाउनुपर्छ । प्रमुख पदमार्गमा आधारभूत स्वास्थ्य केन्द्र, प्रशिक्षित उद्धार टोली, भरपर्दो सञ्चार प्रणाली र मौसमसम्बन्धी सूचना उपलब्ध हुनुपर्छ ।
चौथो, स्थानीय समुदायलाई पर्यटनको वास्तविक साझेदार बनाउनुपर्छ । पर्यटनबाट प्राप्त आम्दानीको उचित हिस्सा स्थानीय पूर्वाधार, वातावरण संरक्षण र समुदायको आयआर्जनमा फर्किनुपर्छ । स्थानीयले पर्यटनबाट लाभ पाए मात्र उनीहरू पदमार्ग र प्रकृति संरक्षणका बलिया साझेदार बन्न सक्छन् ।
पाँचौँ, पदयात्राको गुणस्तरलाई पर्यटन नीतिको केन्द्रमा राख्नुपर्छ । पर्यटकको संख्या बढाउनु मात्र सफल पर्यटनको मापदण्ड होइन । पर्यटकले कति समय नेपालमा बिताए, कस्तो अनुभव लिए, कति खर्च गरे र फेरि नेपाल फर्किन चाहन्छन् कि चाहँदैनन् भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हो ।
प्रकृति बेचेर होइन, जोगाएर पर्यटन विकास गरौँ
प्रकृतिले नेपाललाई अनुपम उपहार दिएको छ । हिमाल, पहाड, जंगल, नदी, जैविक विविधता र मौलिक संस्कृतिको यस्तो संयोजन विश्वका थोरै देशसँग मात्र छ । तर प्राकृतिक सम्पदा आफैँमा पर्याप्त हुँदैन । त्यसको संरक्षण, व्यवस्थापन र जिम्मेवार उपयोग गर्न सकिए मात्र त्यो आर्थिक समृद्धिको आधार बन्न सक्छ । आज हामीले पदमार्गमा सडक खनिरहेका छौँ, प्रकृतिमा फोहोर थुपारिरहेका छौँ, पर्यटकको सुरक्षामा पर्याप्त ध्यान दिइरहेका छैनौँ र शुल्क उठाएअनुसार सेवा दिन सकेका छैनौँ भने भोलि पर्यटकले विकल्प रोज्नु स्वाभाविक हुनेछ । पर्यटन बजारमा प्रतिस्पर्धा बढिरहेको छ । पर्यटकसँग गन्तव्य छनोट गर्ने विकल्प धेरै छन् । उनीहरू केवल हिमाल हेर्न होइन, सुरक्षित, स्वच्छ, व्यवस्थित र प्रामाणिक अनुभवका लागि यात्रा गर्छन् । त्यसैले अब पर्यटन विकासको अर्थ केवल धेरै पर्यटक भित्र्याउनु हुनु हुँदैन । कम क्षति, उच्च मूल्य र उत्कृष्ट अनुभव नेपालको पर्यटन नीतिको आधार बन्नुपर्छ ।
नेपालका पदमार्ग केवल बाटा होइनन्; ती प्रकृति, संस्कृति र स्थानीय अर्थतन्त्र जोड्ने जीवनरेखा हुन् । तिनलाई जोगाउनु भनेको पर्यटन मात्र जोगाउनु होइन, भावी पुस्ताका लागि नेपालको प्राकृतिक पहिचान जोगाउनु पनि हो । समय अझै बितिसकेको छैन । जथाभावी सडक विस्तार रोकौँ, पदमार्ग पुनःस्थापना गरौँ, फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाऔँ, पर्यटक सुरक्षा सुनिश्चित गरौँ र स्थानीय समुदायलाई पर्यटनको साझेदार बनाऔँ । किनकि नेपालले पर्यटकलाई केवल हिमाल देखाएर होइन, हिमालको काखमा अविस्मरणीय अनुभव दिएर जित्नुपर्छ । प्रकृति हाम्रो पर्यटनको उत्पादन होइन; हाम्रो सबैभन्दा ठूलो सम्पदा हो । त्यसलाई बेचेर होइन, जोगाएर पर्यटन समृद्ध बनाउनुपर्छ ।