गएको असारको अन्तिमतिर प्रतिनिधिसभाको बैठकमा अभिलिखित भएको एउटा विवरण अर्थात् सरकार कारक भएर महिनादिनकै सेरोफेरोमा जति जनाले ज्यान गुमाए । तथ्यांकलाई आधार मान्ने हो भने रास्वपाको बहुमतको सरकार खासगरी भाई मान्छेहरूका लागि एउटा ठूलो अभिशाप बन्नेतर्फ लागेको देखिन्छ, जो नागरिक र देशका लागि एउटा अपूरणीय दुःखद् घटना हो । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले उठाएको र सरकारका कुनै सदस्य वा सत्तापक्ष कतैबाट जवाफ नआएको अवस्थालाई आधार मान्ने हो भने अहिलेको सरकार संसारभरी कतिपय बेलामा चर्चामा आउने गरेका करुणाविहीन अर्थात् क्रूर शासक बन्दै गएको बुझाउँछ । त्यसमाथि छोटो समयमा थुप्रै मानिसको जीवन नै लिइएको घटनालाई सत्तारुढ दलका सभापति स्वयंले गर्न खोजेको अति सामान्यीकरणले त झनै ठूलो भयावहता देखाउँछ ।
खासगरी सुकुमबासीहरूका सिलसिलेवार मृत्युलाई सरकारले रचेको संस्थागत हत्या जस्तै मानिएको स्थिति छ । सुकुमबासीका नौजना र गणेश नेपालीको पछिल्लो आत्महत्या प्रकरणले त सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा चलाऔँ भनेर आम तहमा नै प्रतिकृयाहरू आइरहेका छन् । खासगरी सुकुमबासीहरूले अत्महत्या गर्नुपर्ने अवस्थाको निर्माणमा प्रधानमन्त्रीको एक्लो भूमिका देखिन्छ । यस्तो बेला उनलाई प्रधानमन्त्रीका लागि सिफारिस गर्ने पार्टी सभापतिले समेत सामान्य प्रकारको कुनै प्रष्टिकरणसमेत सोधेका देखिएन ।
बरु यी घटना सामान्य र भइरहने भनेर मान्छे मारिएका कुरालाई उल्टो मजाकको विषय बनाएको पाइयो । असार ३१ गतेको संसद्मा प्रमुख प्रतिपक्षी दलकी सांसद गीता गुरुङले एउटा दुःखद् विवरणहरू प्रस्तुत गरिन् । महिना दिनको सेरोफेरोमा सरकार कारक भएर नौजनाको मृत्यु भएको भनेर उनले नाम मात्र होइन तिनका उमेरसमेत खुलाएकी थिइन् । जो संसद्को रेकर्डमा रहेको छ । उनका अनुसार सरकारले विना तयारी सुकुमबासी बस्तीमा डोजर चलाउँदा नौजना नागरिकले ज्यान गुमाउनुपरेको छ ।
राज्यको गलत नीतिका कारण १८ वर्षका रविन तामाङदेखि १८ महिनाका उज्ज्वल तामाङसम्मले ज्यान गुमाएका विवरणहरू प्राप्त भएका छन् । यसमा १८ वर्षका रविन तामाङ, ५७ वर्षीय इन्द्रबहादुर राई, ५० वर्षीया कमला बलम्पाकी, ६८ वर्षीय कर्णबहादुर श्रेष्ठ, ३६ वर्षीय भेषराज दर्जी, ६६ वर्षीया पार्वती विक, ३९ वर्षीया सुशीला थापामगर, ७५ वर्षीया रटनदेवी मलाहानी र १८ महिनाका नाबालक उज्ज्वल तामाङ रहेका छन् । यीमध्ये कति नदीमा हाम फालेर, कति सरकारी डोजरले खाइरहेका औषधि पुरिदिएर त कतिले मानसिक तनाव झेल्न नसकेर कतिचाहिँ आयस्थल चहार्दाचहार्दै मृत्युवरण गर्न बाध्य भएका पाइएको छ । यतिबेला धेरै जसो मानिस मानसिक तनावको बढ्दो स्थितिमा रहेकाहुँदा यसरी ज्याने क्रम बढने क्रममा रहेको देखिन्छ ।
यो जानकारी निश्चय नै सामान्य होइन । सुकुमबासीलाई यो रूपले उठिबास गराउँदा प्रधानमन्त्रीले जे कारण देखाएका थिए त्यो शतप्रतिशत झुठो सावित भइसकेको छ । यति हुँदा पनि सत्तारुढ दलभने नागरिकका जीवन जोगाउने भन्दै करुणाहीन शासक बन्न नदिनेतर्फ लागेको कतै देखिएन । बरु उल्टो यो दलका सभापतिले अहिले कुनै नराम्रो केही नभएको भनेर प्रतिकृया दिइरहेका छन् । साउन १ गते रौतहटमा आयोजित एक कार्यक्रममा बोल्दै सभापतिले निर्णयहरूमा कहिलेकाँही समस्या आउन सक्ने र त्यो परिवर्तनशील हुने भनेर बताए । उनकै भनाइमा, ‘भोलि व्यवहारिक रूपमा जसका लागि लाभ होस् भनेर सरकारले निर्णयहरू गरेको छ, त्यो निर्णयले लाभ होइन हानि भएछ भने त्यस्ता निर्णय परिवर्तन हुन्छ, त्यसमा चिन्ता गर्नुपर्दैन, यसले धेरै ठूलो ड्यामेज गर्यो भने त्यसलाई रातारात परिवर्तन पनि गर्नुपर्छ, कहिलेकाहीँ नेतृत्वले एउटा उद्देश्यका साथ, भिजन देखेर त्यसलाई राखेको हुन्छ, त्यसलाई कार्यान्वयन गर्ने केही चुनौतीहरूले गर्दा त्यो खराब हो कि खत्तम हो कि हुँदैन भन्ने जस्ता भाष्यहरू आउँछन्, सुरूवातमा कैयौं धेरै विवादमा आएका धेरै चिजहरू कालान्तरमा सही प्रमाणित हुन्छन् । यति मान्छे मारिइसकिएको कुरा कालान्तरमा कसरी सही प्रमाणित होला भन्ने चाहिँ उनैसँग सोधौंँ ।