काठमाडौं, नेपाल राष्ट्र बैंकले तिहारको सार्वजनिक बिदाका दिनमा पनि भन्सार कार्यालय परिसरमा रहेका बैंक तथा वित्तीय संस्थाका शाखाबाट आवश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूका नाममा सूचना जारी गर्दै तिहार बिदाका सबै दिन भन्सार कार्यालयमा रहेका शाखामार्फत बैंकिङ सेवा सुचारु राख्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।
नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागले व्यापार सहजीकरण, आपूर्ति प्रणालीको निरन्तरता तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन तिहार बिदामा समेत आवश्यक बैंकिङ सेवा सञ्चालन गर्न अनुरोध गरेपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । भन्सार विभागको च.नं. २४७, प.सं. २०८३÷८४ तथा मिति २०८३ कात्तिक १८ गतेको पत्रका आधारमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक व्यवस्था मिलाउन सूचित गरेको जनाएको छ । राष्ट्र बैंकको सूचनाअनुसार २०८३ कात्तिक २२ गतेदेखि २६ गतेसम्म सार्वजनिक बिदाका सबै दिन भन्सार कार्यालयमा रहेका बैंक तथा वित्तीय संस्थाका शाखाबाट आवश्यक बैंकिङ सेवा सञ्चालन गर्नुपर्नेछ ।तिहारको लामो सार्वजनिक बिदाका कारण आयात–निर्यात तथा भन्सार जाँचपास प्रक्रियामा अवरोध नआओस्, व्यापारिक गतिविधि प्रभावित नबनून् र वस्तुको आपूर्ति प्रणाली नियमित रहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको राष्ट्र बैंकको भनाइ छ ।