काठमाडौं ।पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बिचौलियाको भूमिकामा देखिएपछि पक्राउ परेका इनम सापकोटा अहिले प्रहरी हिरासतमा छन् । गत असोज ११ गते पक्राउ परेका इनम सापकोटाको मोबाइल तत्कालीन प्रहरी महानिरिक्षक दानबहादुर कार्कीले नियन्त्रणमा लिएको खुलेको छ । कार्कीले आफू सम्बन्धित प्रमाण ‘डिलिट’ गराएको खुलेको छ ।आर्थिक दैनिकलाई प्राप्त गोप्य प्रमाणअनुसार तत्कालीन महानिरिक्षक कार्कीले सन् २०२६ अक्टोबर १ मा आफ्नो संवादहरू डिलिट गराएका हुन् । अर्थात् इनम पक्राउ परेको मिति सन् २०२६ सेप्टेम्बर २७ अर्थात् असोज ११ पछि उनी हिरासतमा थिए । इनम हिरासत पुग्नुअघि नै कार्कीले मोबाइलमा भएको प्रमाणहरू डिलिट गराएको देखिन्छ । पक्राउ परेकै दिन साँझ बेलुका ७ बजेर ५९ मिनेट १९ सेकेन्डमा कार्कीले आफू सम्बन्धित प्रमाणहरू डिलिट गराएको प्रमाणले देखाएको छ । कार्कीले इनमको मोबाइल केही दिन ‘होल्ड’मा राखेको समेत खुलेको छ ।
कार्कीको मोबाइल नम्बर ९८५१२९०१७५ र इनमको मोबाइल नम्बर ६५८२२८३५८७ बीच भएको ह्वाटसएप संवाद कार्कीले रहस्यमयी रूपमा मेटाएका हुन् । मुलुकी अपराध संहिता, २०७४ को दफा (९३) मा यसरी प्रमाण मेटाएमा फौजदारी कसुर समेत कार्कीमाथि आकर्षित हुने देखिएको छ । यसरी प्रमाण मेटाएको भेटिएमा ३ वर्षसम्मको कैद सजाय हुने समेत कानुनी व्यवस्था छ । पूर्वप्रहरी महानिरिक्षक कार्की र इनम सापकोटाबीच रहस्यमयी रूपमा संवाद भएका विषयहरू यसअघि समेत मिडियामा आएका थिए । पूर्वप्रधानन्यायधीश प्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उनको मोबाइलमा भेटिएको शंकास्पद पात्र सापकोटासँग सम्बन्ध देखिएपछि सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल निलम्बनसँगै बर्खास्तीमा परेका थिए । तर, आईजी कार्कीले दाहाल निलम्बनमा परेकै समय आसपासमा आफू समेत निलम्बनमा पर्ने आशंकामा प्रमाण मेटाएको देखिन्छ ।
हाल कारागारमा रहेका दीपक भट्टलाई छुटाउने डिल गर्नेदेखि न्यायधीशहरूको घुस रकम व्यवस्थापनमा समेत उनी प्रयोग भएको तथ्य अनुसन्धानले देखाएको छ ।पक्राउ पर्नेबित्तिकै उनको मोबाइल नियन्त्रणमा लिँदा सशस्त्र प्रहरीका एआईजी दाहालको शंकास्पद सम्बन्ध देखिएपछि उनी कारबाहीमा परेका थिए । दाहालजस्तै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीको रहस्यमयी सम्बन्ध रहेको ‘स्क्रिन सर्ट’सहितको प्रमाण फेला परेको थियो ।सापकोटाको मोबाइलमा ‘आईजीपी दानबहादुर कार्की सर’ भनी ‘सेभ’ भएको देखिएको छ । सापकोटा पक्राउ पर्नुभन्दा ६ दिनअघि मात्रै कार्कीसँग ह्वाट्सएपमा कुराकानी भएको देखिएको थियो ।नेपाल प्रहरीको प्रबन्ध शाखाका डीआईजी विश्वराज अधिकारीसँग सबैभन्दा धेरै सम्पर्क देखिएका इनमले पोशाक खरिदका विषयमा संवाद गरेको समेत खुलेको थियो ।
तत्कालीन महानिरिक्षक कार्की निकट रहेका डीआईजी अधिकारीले सापकोटासँग पोशाक खरिदकै कुराकानी गर्नुले सापकोटाको भूमिका पोशाक खरिदमा समेत रहेको समेत आशंका बढाएको छ ।गत असोज ११ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका थिए । जबरा पक्राउ परेपछि प्रहरीले मोबाइल अनुसन्धान गर्दा इनमको शंकास्पद सम्बन्ध देखिएको थियो । त्यस्तै हाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको पनि इनमसँग सबैभन्दा धेरै सम्पर्क देखिएको थियो ।अधिकारीसँग मुद्दाको सेटिङ, सरुवा बढुवालगायतको विषयमा कुराकानी हुने गरेको तथ्य अनुसन्धानमा संलग्न मिसिलले देखाएको छ ।
इनमसँग सशस्त्र प्रहरी, नेपाल प्रहरीका अन्य अधिकारीको समेत सम्पर्क र सूचना आदान प्रदान रहेको भेटिएको छ ।
सापकोटाले सिंगापुरको मोबाइल नम्बरमा समेत कुराकानी गर्ने गरेको देखिएको छ । त्यसो त उनको सिंगापुरमा कम्पनी समेत रहेको छ । दुबईमा अपार्टमेन्ट समेत रहेको देखिएको छ । उनले नेपालमा मुद्दाको सेटिङ गर्ने र दुबई, अमेरिका र सिंगापुरलगायतको मुलुकमा लेनदेन गर्ने गरेको खुलेको छ । त्यसैले पनि उनको अधिकांश सम्पर्क भीआईपीहरूसँग देखिएको छ । उनको सम्पर्क हुने लेनदेन हुने र कारागारमा रहेका थुनुवा, कैदीहरू छुट्नेसम्मका घटनाहरू अनुसन्धानले देखाएको छ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी कारागार चलान भएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग समेत उनको निकट सम्बन्ध देखिएको छ । उनकै सेटिङमा खाँण छुटेको समेत आशंका अनुसन्धानमा संलग्न स्रोतलाई छ । त्यस्तै कांग्रेस नेताहरूसँगको कुराकानीपछि सर्वोच्च अदालतमा आधिकारिकतासम्बन्धी विवादको मुद्दामा कांग्रेसका नेताहरू उत्साहित देखिएको समेत देखिएको छ ।
काठमाडौं प्रहरीले अनुसन्धानमा रहेको प्रमाण बाहिर ल्याएको भन्दै उक्त प्रमाण बाहिर नल्याउन आग्रह गरेको छ । तर, तत्कालीन प्रहरी महानिरिक्षक दानबहादुर कार्कीले इनमको मोबाइल नै आफूले नियन्त्रणमा लिएर प्रमाण लुकाएको तथ्यले अनुसन्धान प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ ।