काठमाडौं, नेपाली काँग्रेसका अपदस्थ सभापति शेरबहादुर देउवाले अवैधानिक विशेष महाधिवेशनबाट आएको समूहले आयोजना गर्ने भनिएको महाधिवेशनमा सहभागी नहुन पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । भदौ ३० गते प्रेस विज्ञप्ति जारी गर्दै देउवाले आगामी मंसिर २१, २२ र २३ गते हुने नेपाली काँग्रेसको १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।
देउवाले पार्टीको विधि, विधान, पद्धति, परम्परा तथा केन्द्रीय समितिका निर्णयविपरीत अवैधानिक रूपमा विशेष महाधिवेशन गर्ने समूहले कथित १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी एकपक्षीय रूपमा अघि बढ्न खोजेको आरोप लगाएका छन् । पार्टी निर्माणमा लामो समयदेखि योगदान पु¥याएका नेता तथा बहुसंख्यक सदस्यलाई बेवास्ता गरेर अघि बढ्ने प्रयास काँग्रेसको हितमा हुन नसक्ने उनको भनाइ छ । विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि, विधान तथा कानुनी सिद्धान्तविपरीत हुने देउवाले बताएका छन् ।
‘अवैधानिक विशेष महाधिवेशनबाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन नेपाली काँग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तामा हार्दिक अनुरोध गर्दछु,’ देउवाले विज्ञप्तिमा भनेका छन् । देउवाले आफूलाई कुनै पद वा जिम्मेवारीको लोभ नरहेको पनि बताएका छन् । तर राज्य र काँग्रेसले आफ्नो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म जिम्मेवारी निर्वाह गर्न पछि नहट्ने उनको भनाइ छ । १४ औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व भएको देउवाले उल्लेख गरेका छन् । उनले काँग्रेसभित्र देखिएको वर्तमान मतभेद अन्त्य गर्दै एकता, सहमति र सहकार्यका आधारमा अघि बढ्न सबै नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई अपिल गरेका छन् ।