काठमाडौं, नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य नाफाबाट सेयरधनीहरूलाई कुल १५ दशमलव ८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको आइतबार बसेको सात सय १२औँ बैठकले साधारण सेयरतर्फ पाँच प्रतिशत बोनस सेयर र १० दशमलव ८० प्रतिशत नगद लाभांश गरी १५ दशमलव ८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित बोनस सेयरको लागि कुल रकम एक अर्ब ३५ करोड २८ लाख ४९ हजार आठ सय ३६ रुपैयाँ ४६ पैसा बराबर तथा नगद लाभांशका लागि दुई अर्ब ९२ करोड २१ लाख ५५ हजार छ सय ४६ रुपैयाँ ७६ पैसा रकम रहेको छ । उक्त रकमा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ । त्यसैगरी, बैठकले बैंकको आठ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरतर्फ चुक्ता पुँजीको आठ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार छ सय ५७ रुपैयाँ ५३ पैसा नगद लाभांश (आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँटको मितिबाट समानुपातिक रूपमा २१३ दिन, करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको अग्राधिकार सेयरतर्फको चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ रहेको छ भने साधारण सेयरतर्फको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार सात सय २९ रुपैयाँ २६ पैसा रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा बैंकले हासिल गरेको सन्तोषजनक वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिको आधारमा सेयरधनीहरूलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले उक्त लाभांश प्रस्ताव गरिएको हो । उक्त लाभांश वितरण नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ । नबिल बैंकप्रति निरन्तर विश्वास र साथ प्रदान गर्ने सम्पूर्ण सेयरधनी, ग्राहक, नियामक निकाय तथा कर्मचारीहरूप्रति बैंकले हार्दिक आभार व्यक्त गरेको छ ।
नबिल बैंक निजी क्षेत्रको एक अग्रणी वाणिज्य बैंक हो । बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई देशभर रहेका दुई सय ६३ शाखा सञ्जाल र तीन सय १५ वटा एटीएम मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले हाल ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसाथ ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणालाई थप सशक्त रूपमा अगाडि बढाएको छ ।