काठमाडौं, १८औँ संस्करणको नाडा अटो शो २०२६ मा ५३ वटा सवारी ब्राण्डले सहभागीता जनाउने भएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले सोमवार पत्रकार सम्मेलन गरि उक्त जानकारी दिएको हो ।
१८औँ संस्करणको नाडा अटो शो २०२६ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुँदैछ । प्रदर्शनीमा २३ वटा पेसेन्जर कार, १७ वटा लाइट कमर्शियल भेहिकल र १३ वटा दुईपांग्रे सवारीसाधनका ब्रान्ड गरि ५३ वटा ब्राण्ड सहभागी हुने नाडाका महासचिव मिलनबाबु मल्लले जानकारी दिए । त्यस्तै, १० वटा वित्तीय तथा बीमा सेवा प्रदायकसहित करिब ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण तथा अन्य अटोमोबाइलसम्बन्धी उत्पादन र सेवाका स्टल रहनेछन् । नेपालमै एसेम्बल वा उत्पादन हुने सवारीसाधन, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट तथा अन्य सामग्रीलाई समेत प्रदर्शनीमा प्राथमिकता दिने उनले बताए । प्रदर्शनीको शीर्ष प्रायोजकमा एचपी लुब्रिकेन्ट्स रहेको छ । करिब तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने अटो शोमा २०० भन्दा बढी स्टल रहनेछन् ।
नाडाका अनुसार अटो शोमा विभिन्न ब्रान्डका नयाँ मोडल सार्वजनिक गरिनेछ । स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको दिगो विकास र कनेक्टिभिटीमा केन्द्रित सिम्पोसियमसमेत आयोजना गरिनेछ । भविष्यका यातायात प्रविधि र नवप्रवर्तनबारे जानकारी दिने कार्यक्रमलाई पनि प्रदर्शनीको प्रमुख आकर्षणका रूपमा राखिएको छ । प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स तथा ग्यारेज उपकरणका लागि छुट्टाछुट्टै जोन बनाइने नाडाले जनाएको छ । आगन्तुकले खल्ती एपमार्फत अग्रिम टिकट खरिद गर्न सक्नेछन् भने निश्चित अवधिका लागि ५० प्रतिशत क्यासब्याकको व्यवस्था गरिएको छ ।
नाडाका अनुसार सञ्चारकर्मीका लागि मिडिया डेस्क, ट्राफिक व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरीसँगको समन्वय, आपतकालीन स्वास्थ्य टोली, सीसीटीभी निगरानी तथा आगो नियन्त्रणको व्यवस्था मिलाईएको छ । पार्किङका लागि नेपाल पुलिस क्लबको ब्लु पेभिलियनअन्तर्गतको भूमिगत पार्किङ तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसर प्रयोग गर्ने व्यवस्था मिलाइएको नाडाले जनाएको छ । नाडाले छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब दुई लाख आगन्तुक सहभागी हुने अपेक्षा गरेको छ । नेपालमा तीव्र गतिमा विकसित भइरहेको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ प्रविधि, उत्पादन र व्यवसायिक गतिविधिलाई प्रर्दशनीमार्फत एउटै मञ्चमा प्रस्तुत गर्न लागिएको नाडाले जनाएको छ ।
नाडाको ५०औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुन लागेको यस वर्षको प्रदर्शनीलाई ‘स्वर्ण उत्सव संस्करण’का रूपमा सञ्चालन गरिने जनाईएको छ ।