काठमाडौं, नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी)ले आगामी सेप्टेम्बरमा संयुक्त अधिराज्य (यूके) र स्विट्जरल्यान्डमा ‘नेपाल टेक रोड सो युरोप २०२६’ आयोजना गर्ने भएको छ ।
उक्त कार्यक्रममार्फत नेपाली सूचना प्रविधि (आईटी) कम्पनीहरूलाई युरोपेली व्यवसाय, लगानीकर्ता, स्टार्ट–अप र प्रविधि समुदायसँग जोडेर नयाँ व्यावसायिक साझेदारी, प्रविधि सेवा निर्यात र वैदेशिक लगानीका अवसर विस्तार गर्ने लक्ष्य राखिएको संस्थाले जनाएको छ । भदौ २१ देखि असोज ५ गतेसम्म (सेप्टेम्बर ६–२१) सञ्चालन हुने रोडशोको पहिलो चरण यूके र दोस्रो चरण स्विट्जरल्यान्डमा हुनेछ । यूकेको मुख्य कार्यक्रम सेप्टेम्बर ९ मा लन्डनमा तथा स्विट्जरल्यान्डको मुख्य कार्यक्रम सेप्टेम्बर १६ मा ज्युरिखमा आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ । काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा रोड सोको औपचारिक घोषणा गर्दै नास आईटीका अध्यक्ष गौरव पाण्डेले नेपाली आईटी कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारमा आफ्नो क्षमता प्रमाणित गरिसकेको उल्लेख गर्दै अब युरोपेली बजारसँग प्रत्यक्ष सहकार्य विस्तार गर्ने समय आएको बताए ।
उनका अनुसार रोडशोले नेपाली कम्पनीहरूलाई नयाँ बजार, सम्भावित साझेदार र दीर्घकालीन व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गर्नेछ । साथै नेपाललाई विश्वसनीय प्रविधि साझेदारका रूपमा थप स्थापित गर्न पनि कार्यक्रमले योगदान पु¥याउने अपेक्षा गरिएको छ । रोड सोमा नास आईटीका १७ सदस्य कम्पनीले सफ्टवेयर विकास, डिजिटल समाधान, सूचना प्रविधि सेवा तथा नवीन प्रविधिमा आधारित आफ्ना उत्पादन र सेवाहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नेछन् । सहभागी कम्पनीहरूले युरोपका व्यवसाय, स्टार्ट–अप, इनोभेसन हब तथा सम्भावित लगानीकर्तासँग व्यावसायिक भेटघाट, नेटवर्किङ र छलफल गर्ने कार्यक्रम रहेको छ ।
नास आईटीका अनुसार नेपालको आईटी उद्योगमा हाल एक लाखभन्दा बढी दक्ष जनशक्ति कार्यरत छन् भने विदेशी आम्दानी वार्षिक २० देखि २५ प्रतिशतसम्मको दरले बढिरहेको अनुमान छ । संस्थाले दक्ष जनशक्ति, प्रतिस्पर्धी सेवा र अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर विकास क्षमताका आधारमा नेपाल विश्वसनीय प्रविधि साझेदारका रूपमा स्थापित हुँदै गएको दाबी गरेको छ । यो कार्यक्रम स्विस सरकार विकास सहयोग तथा ‘नेपाल इन बिजनेस–ग्रोथ एडभाइजर्स’ कार्यक्रमको सहयोगमा आयोजना हुन लागेको हो । यसअघि नास आईटीले सन् २०२५ मा अष्ट्रेलिया र २०२६ मा अमेरिकामा पनि यस्तै प्रवद्र्धनात्मक रोडशो आयोजना गरेको थियो ।