काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो। उनी यसअघि नेपाल आयल निगमका पूर्व निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। साह चार्टर्ड एकाउन्टेन्ट (सीए) हुन्।
कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले साउन १७ गते प्रतिस्पर्धी आवेदकमध्ये सर्वाधिक अंक प्राप्त गरेका तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरेको थियो। सिफारिस सूचीमा धनुषाका नागेन्द्र साह, प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव रहेका थिए।
रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि सरकारले असार २ गते आवेदन आह्वान गरेको थियो। छनोट प्रक्रिया पूरा भएपछि मन्त्रिपरिषद्ले सिफारिस भएका उम्मेदवारमध्ये साहलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। साहको नियुक्तिसँगै नेपाल आयल निगमको नेतृत्वले इन्धन आपूर्ति व्यवस्थापन, संस्थागत सुधार तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।