काठमाडौं, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) खुद नाफा खुम्चिएको छ । बैंकले आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा घटेको जानकारी दिएको हो । बैंकले समीक्षा अवधिमा ९८ करोड ७३ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ दशमलव ९८ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म बैंकले एक अर्ब २३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
वित्तीय विवरणअनुसार बैंकको खुद ब्याज आम्दानी २३ दशमलव ८९ प्रतिशतले घटेर एक अर्ब ४४ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी एक अर्ब ९० करोड ८ लाख रुपैयाँ रहेको थियो । यद्यपि, बैंकको खुद शुल्क तथा कमिसन आम्दानीमा उल्लेख्य सुधार देखिएको छ । समीक्षा अवधिमा यस्तो आम्दानी पाँच करोड ८० लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो दुई करोड १० लाख रुपैयाँ मात्र थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी एक अर्ब ९२ करोड १९ लाख रुपैयाँबाट घटेर एक अर्ब ५० करोड ४ लाख रुपैयाँमा झरेको छ । सञ्चालन नाफा पनि एक अर्ब ७६ करोड ६५ लाख रुपैयाँबाट घटेर १ अर्ब ४१ करोड ६८ लाख रुपैयाँमा सीमित भएको वित्तीय विवरणमा उल्लेख छ ।
नाफा घटे पनि बैंकको व्यवसाय विस्तार भने सकारात्मक देखिएको छ । समीक्षा अवधिमा निक्षेप एक दशमलव ९४ प्रतिशतले बढेर सात अर्ब ८३ करोड ९१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा निक्षेप सात अर्ब ६८ करोड ९८ लाख रुपैयाँ रहेको थियो । यसैगरी बैंकको कर्जा प्रवाह २५ दशमलव ९६ प्रतिशतले बढेर ३१ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २४ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा समीक्षा अवधिसम्म तीन अर्ब ७१ करोड ८७ लाख रुपैयाँ सञ्चित रहेको छ । प्रति सेयर आम्दानी (ईपीएस) चार रुपैयाँ ५७ पैसा, मूल्य–आम्दानी अनुपात (पीई रेसियो) ५३ दशमलव ७३ गुणा तथा प्रति सेयर नेटवर्थ एक सय १७ रुपैयाँ २२ पैसा कायम भएको वित्तीय विवरणमा उल्लेख छ ।