पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक बाढीका कारण पछिल्लो एक महिनामा कम्तीमा १०९ जनाको मृत्यु भएको छ । मौसमविद्ले यसै साता देशका विभिन्न क्षेत्रमा पुनः भारी वर्षा हुने चेतावनी दिएसँगै सरकारले सम्भावित विपद्को तयारीलाई थप तीव्र बनाएको छ ।
पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार जुन २६ यता देशभर मनसुनसँग सम्बन्धित घटनामा १०९ जनाले ज्यान गुमाइसकेका छन् । अधिकांशको मृत्यु घर तथा छाना भत्किँदा भएको हो । मृतकमध्ये झण्डै आधा अफगानिस्तानसँग सीमा जोडिएको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तका रहेका छन् ।
विपद् व्यवस्थापन प्राधिकरणले बाढीको जोखिम उच्च रहेका क्षेत्रको तयारीबारे समीक्षा गरेको भोलिपल्ट यो अद्यावधिक विवरण सार्वजनिक गरेको हो । अधिकारीहरूले नदी किनारमा बसोबास गर्ने समुदायलाई समयमै पूर्वसूचना उपलब्ध गराई बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तथा आवश्यक परे बाढी आउनुअघि नै स्थानान्तरण गर्ने योजनामाथि छलफल गरेका छन् ।
गत साता पाकिस्तानको सांस्कृतिक राजधानी लाहोरसहित विभिन्न क्षेत्रमा परेको अविरल वर्षापछि धेरै बस्ती जलमग्न भएका थिए । सडकहरू डुबानमा परेपछि सर्वसाधारणले लामो दूरी घुमेर यात्रा गर्नुपरेको थियो ।