काठमाडौं, नेपाल टेलिकमले आगामी पुस मसान्तभित्र बक्यौता भुक्तानी गर्ने ग्राहकलाई लाग्ने जरिवाना पूर्ण रूपमा छुट दिने घोषणा गरेको छ ।
कम्पनीले एक सुचना जारी गर्दै आर्थिक वर्ष २०८०/८१ सम्मको दूरसञ्चार सेवा उपयोगबापतको बक्यौता महसुल २०८३ साल पुस मसान्तसम्म बुझाएमा जरिबाना छुट हुने जानकारी दिएको हो । कम्पनीका अनुसार बक्यौता रहेका ग्राहकले नजिकको दूरसञ्चार कार्यालयमा गई निर्धारित अवधिभित्र रकम बुझाएर जरिबाना छुटको सुविधा लिन सक्नेछन् । टेलिकमले तोकिएको समयभित्र बक्यौता नतिर्ने ग्राहकविरुद्ध असुली प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ ।
कम्पनीका अनुसार त्यस्ता ग्राहकको नामावली कम्पनीको वेबसाइट तथा राष्ट्रिय पत्रपत्रिकामार्फत सार्वजनिक सूचना जारी गरी कानुनी प्रक्रियाअनुसार बक्यौता असुल गरिनेछ । टेलिकमले सम्बन्धित सबै ग्राहकलाई समयमै बक्यौता महसुल भुक्तानी गरी उपलब्ध छुट सुविधाको सदुपयोग गर्न आग्रह गरेको छ ।