सुदूरपश्चिम, सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त गरिएको छ । एक वर्ष अगाडि अमेरिका गएका देउवा फर्किएर नआएपछि उनलाई पदमुक्त गरिएको हो । सुदूरपश्चिम प्रदेशसभाका सचिव देवबहादुर बोगटीले नेपालको संविधान र प्रदेशसभा नियमावलीको प्रावधानअनुसार लगातार १० भन्दा बढी बैठकमा विना सूचना अनुपस्थित रहेका कारण पदमुक्त गरिएको जानकारी दिए । मंगलबार सभामुख भीमबहादुर भण्डारीले देउवालाई पदमुक्त गर्नेसम्बन्धी निर्णय गरेका हुन् । नेपालको संविधानको धारा १८० को (घ) मा प्रदेशसभा सदस्यको स्थान रिक्त हुनेसम्बन्धी व्यवस्था गरिएको छ ।
उक्त दफामा सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित हुने प्रदेशसभा सदस्यको पद रिक्त हुने व्यवस्था छ । यस्तै, सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० ले पनि सोहीअनुसार व्यवस्था गरेको छ । देउवा गत वर्ष भदौ २८ गते जेनजी आन्दोलनलगत्तै व्यक्तिगत कामका लागि भनेर अमेरिका गएका थिए । अमेरिका गएका उनी स्वास्थ्य उपचारको बाहाना बनाएर उतै बसेका थिए भने यताबाट नियमित तलबभत्ता लिँदै आएका थिए ।