बङ्गलादेश, बङ्गलादेशको प्रमुख निर्यात उद्योगका रूपमा रहेको तयारी पोशाक (गार्मेन्ट) क्षेत्रमा निर्यात घट्दै, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बढ्दै र बजार माग कमजोर बन्दै गएपछि सयौँ कारखाना बन्द भएका छन् । त्यसको प्रत्यक्ष असर हजारौँ कामदारको रोजगारीमा परेको छ भने लाखौँ श्रमिकको भविष्यप्रति चिन्ता बढेको छ ।
गार्मेन्ट क्षेत्रमा आठ वर्षदेखि कार्यरत मोसम्मत अक्लिमाले जुलाई महिनाको एक साँझ मोबाइलमा आएको सन्देशबाट आफ्नो जागिर समाप्त भएको जानकारी पाउनुभयो । गाजीपुरस्थित लिथे गार्मेन्ट्स कारखानाले एकैपटक करिब तीन हजार कामदारलाई सेवाबाट हटाएको थियो । तीन महिनाकी गर्भवती अक्लिमाले नयाँ रोजगारी पाउने सम्भावना न्यून रहेको बताउँदै अब बचत र ऋणकै भरमा परिवार चलाउनुपर्ने अवस्था आएको बताउनुभयो ।
उहाँले मासिक करिब २५० अमेरिकी डलर पारिश्रमिक पाउँदै आउनुभएको थियो । उहाँका श्रीमान् पनि अर्को गार्मेन्ट कारखानामा कार्यरत रहेकाले अहिले परिवारको सम्पूर्ण दायित्व एउटै आम्दानीमा सीमित भएको छ । उहाँहरूका सन्तान र वृद्ध अभिभावकसमेत त्यसै आम्दानीमा निर्भर छन् । बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसन (बिजिएमइए) का अनुसार विगत दुई वर्षमा देशभर रहेका करिब चार हजार गार्मेन्ट कारखानामध्ये झन्डै ४०० बन्द भएका छन्, जसका कारण दशौँ हजार कामदारले रोजगारी गुमाएका छन् । बिजिएमइएका अध्यक्ष महमुदुल हसन बाबुले अत्यधिक प्रतिस्पर्धी अन्तर्राष्ट्रिय बजारमा निर्यात घटेकाले धेरै उद्योग सञ्चालनमै टिक्न नसकेको बताए ।
बङ्गलादेशको कुल निर्यात आम्दानीको करिब ८० प्रतिशत हिस्सा यही उद्योगबाट आउने गर्छ । करिब ४५ लाख मानिस यस क्षेत्रमा आबद्ध छन् र तीमध्ये अधिकांश महिला छन् । विश्लेषकहरूका अनुसार बङ्गलादेशले विशेषगरी युरोपेली बजारमा भारत र भियतनामसँग कडा प्रतिस्पर्धा सामना गरिरहेको छ । स्वतन्त्र व्यापार सम्झौताका कारण ती मुलुकले बजार विस्तार गरिरहेका बेला बङ्गलादेशले सन् २०२९ देखि न्यून विकसित राष्ट्रको हैसियत समाप्त भएसँगै पाउँदै आएको शुल्क–रहित व्यापार सुविधा पनि गुमाउने अवस्था छ । ढाका विश्वविद्यालयका प्राध्यापक सेलिम रेहानका अनुसार अधिमान्य व्यापार सुविधा समाप्त भएपछि स्वतन्त्र व्यापार सम्झौता गर्न नसके बङ्गलादेशको प्रतिस्पर्धात्मक क्षमता थप कमजोर हुन सक्छ । युरोस्ट्याटको तथ्यांकअनुसार यस वर्षको पहिलो पाँच महिनामा युरोपेली संघ (ईयू) मा बङ्गलादेशबाट हुने तयारी पोशाक आयात प्रमुख आपूर्तिकर्तामध्ये सबैभन्दा धेरै घटेको छ ।
विज्ञहरूले युक्रेन र मध्यपूर्वको द्वन्द्वका कारण विश्वव्यापी उपभोक्ता माग कमजोर भएको, साथै बङ्गलादेशको उद्योग अझै पनि कम मूल्यका टी–सर्ट र जिन्सजस्ता उत्पादनमा केन्द्रित रहँदा उच्च मूल्यका कृत्रिम रेसायुक्त कपडाको बजारमा प्रतिस्पर्धी मुलुकहरू अगाडि बढेको उल्लेख गरेका छन् । आयातित कपास र अन्य कच्चा पदार्थमा अत्यधिक निर्भरता पनि उत्पादन लागत बढाउने अर्को कारण बनेको छ ।