काठमाडौँ, बजाज ग्लोबलले पल्सर मोटरसाइकलको २५ वर्ष पूरा भएको अवसरमा माइ पल्सर स्टोरी नामक विश्वव्यापी अभियान सुरु गरेको छ ।
अभियानमार्फत नेपालसहित विभिन्न देशका पल्सर राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब तथा दीर्घकालीन प्रयोगकर्तालाई पल्सरसँग जोडिएका आफ्ना वास्तविक अनुभव र प्रेरणादायी कथा साझा गर्न आह्वान गरिएको छ । पल्सर नेपालका अनुसार यस अभियानले नेपाली राइडरलाई आफ्ना अनुभव अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ । सहभागीहरूले भिडियो, फोटो, संगीत, एआई आधारित सामग्री वा अन्य सिर्जनात्मक माध्यम प्रयोग गरी जुनसुकै भाषामा आफ्नो कथा पेस गर्न सक्नेछन् ।
प्रस्तुत गरिने सामग्री मौलिक र वास्तविक हुनुपर्ने तथा विश्वलाई चुनौती दिएको २५ वर्ष अभियानको भावनालाई प्रतिविम्बित गर्नुपर्ने जनाइएको छ । छनोट भएका उत्कृष्ट सामग्री पल्सरका विश्वव्यापी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछन् । अभियानअन्तर्गत प्रत्येक हप्ता उत्कृष्ट सहभागीलाई ५०० अमेरिकी डलर बराबरको पुरस्कार प्रदान गरिनेछ भने सहभागी प्रत्येक देशबाट एक जना भाग्यशाली राइडरले पल्सर एन४०० जेड मोटरसाइकल जित्ने अवसर पाउनेछन् ।
अभियान २०२६ सेप्टेम्बर ४ सम्म सञ्चालन हुने अभियानमा सहभागी हुन इच्छुक राइडरहरूले पल्सरसँग जोडिएको आफ्नो अनुभव साझा गर्दै माइ पल्सर स्टोरी ह्यासट्याग प्रयोग गर्नुपर्ने छ । साथै माइ पल्सर अफिसियल र पल्सर नेपाललाई ट्याग गरी निर्धारित समयभित्र सामग्री पेस गर्नुपर्ने छ । बजाजले यो अभियानलाई २५ वर्षे उत्सव मात्र नभई पल्सरको यात्रामा योगदान पुर्याएका राइडरहरूको साहस, अनुभव र उपलब्धिलाई सम्मान गर्ने पहलका रूपमा प्रस्तुत गरेको जनाएको छ ।