बाँके, बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६ सय ७ हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणमा परेको छ । अतिक्रमित वनक्षेत्रमा करिब तीन हजार ९ सय ९० घरटहरा निर्माण भएका छन् । हालसम्म बाँके जिल्लामा ६ सय ७ दशमलव ९८ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी टंक गुरुङले जानकारी दिए ।
नरैनापुर गाउँपालिकामा मात्रै २ सय ७३ हेक्टर वनक्षेत्र अतिक्रमण गरी ९ सय ७५ घरधुरी बसोबास गरिरहेका छन् । विसं २०६६ र त्यसपछि बाढीबाट प्रभावित परिवारलाई तत्कालीन अवस्थामा बसोबासका लागि दिइएको वनक्षेत्र व्यवस्थित हुन नसक्दा समस्या बढ्दै गएको छ । २०७४ सालको बाढीपछि पनि त्यस्ता परिवार पुनः वनक्षेत्रमा आएर बसोबास गर्न थालेका छन् ।
सूचना अधिकारी गुरुङका अनुसार, राप्तीसोनारी गाउँपालिकाको वडा नं ५, ६ र ७ मा २११ हेक्टर वनक्षेत्र अतिक्रमण गरी एक हजार ९ सय २५ घरधुरीले बसोबास तथा खेतीपाती गर्दै आएका छन् । वडा नं २ मा ३२ दशमलव ९८ हेक्टर वनक्षेत्र अतिक्रमण गरी ६ सय ४ घरटहरा निर्माण गरिएको छ भने वडा नं १, ३ र ४ मा ४१ हेक्टर वनक्षेत्र अतिक्रमण गरी ७२ घरधुरी बसोबास गरिरहेको पाइएको छ । कोहलपुर नगरपालिका वडा नं ७, ८ र १२ तथा बैजनाथ गाउँपालिका–२ मा समेत वनक्षेत्र अतिक्रमण भएको छ ।