काठमाडौं । तिब्बत क्षेत्रमा गएको हिमपहिरो र भूकम्पका कारण भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङका सडक पूर्वाधार तथा पुलहरूमा अभूतपूर्व क्षति पुर्याएको छ। सडक विभागले सार्वजनिक गरेको प्रारम्भिक प्राविधिक तथ्यांकअनुसार रसुवागढी नाकादेखि धादिङको गल्छीसम्मका २२ वटा पक्की पुल र पाँच वटा बेलीब्रिज बाढीले बगाएको वा गम्भीर रूपमा क्षतिग्रस्त बनाएको छ।सडक विभागका अनुसार बाढीले सडक र पुल सञ्जालमा पुर्याएको क्षति निकै गम्भीर र ऐतिहासिक प्रकृतिको छ। बेत्रावतीदेखि रसुवागढी नाका जोड्ने करिब ४० किलोमिटर रणनीतिक सडक खण्डमा व्यापक कटान हुँदा सडकका कतिपय स्थानमा निसानासमेत नरहने गरी क्षति पुगेको उनले बताएका छन्। यति ठूलो संख्यामा पुलहरू बग्दा चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका र राजधानी जोड्ने महत्वपूर्ण सडक सम्पर्कसमेत विच्छेद भएको छ।
रसुवामा चीनसँग जोड्ने ऐतिहासिक तथा रणनीतिक नाकाका अधिकांश पुल बाढीले बगाएको छ। रसुवागढीस्थित ऐतिहासिक मितेरी पक्की पुल, टिमुरेका दुई वटा बेलीब्रिज तथा चिलिमेस्थित भोटेकोशी र चिलिमे खोलाका पक्की पुल पूर्ण रूपमा बगेका छन्। यसैगरी स्याफ्रुबेँसीस्थित जलविद्युत् आयोजनाको बेलीब्रिज र स्याफ्रुबेँसी पुल, त्रिशूली नदीमा रहेका हाकु–१ र हाकु–२ बेलीब्रिज, अपर त्रिशूली जलविद्युत् आयोजनाको बेलीब्रिज, मैलुङ बजारको बेलीब्रिज तथा मैलुङ नजिकै त्रिशूली–३ ए का ड्याम–१ र ड्याम–२ का दुई पक्की पुल पनि बाढीले बगाएको विभागले जनाएको छ।
नुवाकोटका धेरै महत्वपूर्ण सम्पर्क बिन्दुमा रहेका पुलहरू पनि बाढीको चपेटामा परेका छन्। खल्तेस्थित बोक्तेकोशी नदीको पक्की पुल, बेत्रावतीका ७०–७० मिटर लम्बाइ भएका पुराना र नयाँ दुवै पक्की पुल तथा त्रिशूली नदीको १०० मिटर लामो तुप्चे पुल पूर्ण रूपमा बगेका छन्। यसका साथै त्रिशूली बजारका ६०–६० मिटर लम्बाइका पुराना र नयाँ पुल, सिमचौरस्थित त्रिशूली नदीको १०० मिटर लामो पुल तथा देवीघाटस्थित जलस्रोत तथा सिँचाइ डिभिजन नजिकैको पुल पनि बाढीले बगाएको छ।
मध्यपहाडी राजमार्गअन्तर्गत देवीघाट नजिकैको त्रिशूली नदीको पुल, देवीघाटस्थित ताँदी खोलाका ५५–५५ मिटर लम्बाइ भएका पुराना र नयाँ पुल, बुढसिंहघाटको १८० मिटर लामो पुल, श्रीकाली सडक पुल, १५० मिटरको रातमाटे पुल तथा फोस्रेटार पुल पनि बाढीका कारण ध्वस्त भएका छन्।धादिङमा बाढीको प्रकोपले पाँच वटा पुल पूर्ण रूपमा बगाएको छ भने दुई वटा पुलमा गम्भीर क्षति पुगेको छ। १५० मिटर लामो बैरेनी–स्याल्टार सडक पुल, १२० मिटर लामो जरेबगैँचा पुल, २०० मिटर लामो घाटबेँसी पुल, मलेखुस्थित १२० मिटर लामो फुर्के खोला पुल तथा कोल्पु खोलाको ४० मिटर लामो पुरानो पुल पूर्ण रूपमा बगेका छन्। त्यस्तै १४० मिटर लम्बाइको मास्तर पुल र कोल्पु खोलाको ४० मिटर लामो नयाँ पुलमा गम्भीर क्षति पुगेको छ।
भीषण बाढीका बाबजुद केही रणनीतिक पुल भने सुरक्षित रहेका छन्। गल्छी नजिकैको १५० मिटर लामो भीमढुङ्गा–लामिडाँडा सडक पुल, बेनीघाट पुल र १४५ मिटर लामो फिस्लिङ पुल सुरक्षित रहेका छन्। यसैगरी चितवनको चुम्लिङटारस्थित जलविद्युत् आयोजनाको बेलीब्रिज, मुग्लिनको आर्च ब्रिज तथा मुग्लिनकै पुरानो झोलुङ्गे पुल पनि बाढीको प्रकोपबाट जोगिएका छन्।बाढी र पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीदेखि गजुरीसम्मको करिब १३ किलोमिटर सडक खण्ड सुचारु गर्न बिहीबार बिहानैदेखि उपकरण तथा प्राविधिक टोली परिचालन गरिएको छ। सडकमा थुप्रिएको भीषण बाढीको कहर : रसुवा–नुवाकोट–धादिङमा २२ पक्की पुल र ५ बेलीब्रिज बगे
पहिरो र लेदो हटाउने काम तीव्र गतिमा भइरहेको र दिउँसो वा साँझसम्म सडक सञ्चालनमा ल्याएर बीचबाटोमा रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउने लक्ष्य राखिएको विभागले जनाएको छ। बुधबारदेखि सडक अवरुद्ध हुँदा नारायणगढ र मुग्लिनतर्फबाट आएका सवारीसाधन विभिन्न स्थानमा रोकिएका छन्।
बाढीले ठूलो संख्यामा पुल बगाएपछि तत्काल आवतजावत सहज बनाउन अस्थायी बेलीब्रिज जडान गर्ने तयारी पनि सडक विभागले थालेको छ। विभागसँग केही बेलीब्रिज मौज्दात रहेको र बगेका पुलहरूको लम्बाइ तथा आवश्यक प्राविधिक विवरण अध्ययन गरेर उपयुक्त स्थानमा जडान प्रक्रिया अघि बढाइने जनाएको छ। त्रिशूली, बेत्रावतीदेखि रसुवागढीसम्मको सडक खण्डमा व्यापक क्षति भएकाले पूर्ण विवरण आउन अझै केही समय लाग्ने सडक विभागले जनाएको छ। धेरै ठाउँमा सडकको निसानासमेत नरहने गरी बाढीले कटान गरेकाले स्थलगत विवरण संकलन गर्न प्राविधिक टोलीलाई कठिनाइ भइरहेको छ। विभागले सबै डिभिजन कार्यालयलाई आवश्यक स्रोतसाधन र प्राविधिक टोलीसहित परिचालन गरी अवरुद्ध मुख्य राजमार्गहरू क्रमशः सञ्चालनमा ल्याउने कार्यलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।