काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीबाट भएको क्षति तथा त्यससँग जोडिएका बहुआयामिक विषयलाई संयुक्त राष्ट्रसंघको महासभामा उठाउन सरकारलाई निर्देशन दिएको छ।बुधबार बसेको रास्वपाको केन्द्रीय सचिवालय बैठकले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने प्रधानमन्त्री बालेन शाह, परराष्ट्रमन्त्री शिशिर खनाललगायतको टोलीलाई भोटेकोशी विपद्सँग जोडिएका विषयलाई प्राथमिकताका साथ उठाउने गरी तयारी गर्न निर्देशन दिएको हो।
रास्वपाका प्रवक्ता जगदीश पोखरेलले जारी गरेको विज्ञप्तिमा महासभामा नेपालको भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्षसँगै बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा सम्बोधन केन्द्रित गर्न नीतिगत निर्देशन दिइएको उल्लेख छ।बैठकले बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाहरूको शीघ्र डीएनए परीक्षण गर्न तथा बेपत्ता भई आशा मारिएका व्यक्तिका परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुंगोमा पुर्याउन सरकारको ध्यानाकर्षण गराएको छ।
त्यस्तै, विपद्का कारण प्रभावित तथा पीडित परिवारलाई राहत र आवश्यक सुविधा उपलब्ध गराउन पनि सरकारसँग रास्वपाले आग्रह गरेको छ।बैठकमा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले हालै सम्पन्न भारत भ्रमणका क्रममा भएका भेटवार्ता तथा आर्थिक कूटनीतिसम्बन्धी विषयमा सचिवालयलाई जानकारी गराएका थिए।रास्वपाले भोटेकोशी विपद्का कारण स्थगित गरिएका पार्टीका सम्पूर्ण आधिकारिक गतिविधि पुनः सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। यसअन्तर्गत ‘हामी सुन्छौँ’, ‘नागरिक नीति र नेतृत्व’ अभियान तथा स्थानीय तहका उम्मेदवार छनोट प्रक्रियालगायत सांगठनिक र जनसम्पर्कका कार्यक्रम तत्काल अघि बढाइने पार्टीले जनाएको छ।
बैठकमा मधेस प्रदेशको सांगठनिक अवस्था तथा कार्यसम्पादन अडिटबारे पनि छलफल भएको थियो। पार्टीका सहमहामन्त्री तथा मधेस प्रदेश संयोजक हरि ढकालले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका थिए। विस्तृत प्रतिवेदन प्राप्त भएपछि आवश्यक थप रणनीतिक कदम अघि बढाउने निर्णय भएको रास्वपाले जनाएको छ।
अनुशासन आयोगमा १० सदस्य नियुक्त
बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिँदै १० जनालाई सदस्यमा नियुक्त गरेको छ।नियुक्त हुनेमा अधिवक्ता हरिचन्द्र भट्टराई, अधिवक्ता सुशीला सिंखडा, रामचन्द्र कार्की, अधिवक्ता शान्ता थापा, अधिवक्ता नन्दन तिमिल्सिना, अधिवक्ता रोहन बोहजू, अधिवक्ता भविन्द्र राई, अधिवक्ता सन्तोष आचार्य, अधिवक्ता सन्तोष बिसुङ्खे र अधिवक्ता श्वेता कुमारी रहेका छन्।
त्यसैगरी ज्ञानेन्द्र मल्ललाई युवा खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुखमा मनोनयन गरिएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मतजंग कार्की तथा सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ।बैठकमा नवमनोनित सचिवालय सदस्य तथा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र सहप्रवक्ता सुरेन्द्र चौधरीले पार्टी सभापति रवि लामिछानेसँग पद तथा गोपनीयताको शपथ लिएका थिए।