काठमाडौं, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान तथा अवार्ड प्रदान गरेको छ । बर्दिबासस्थित बर्दिबास रिसोर्टमा शनिबार आयोजित विशेष कार्यक्रममा उत्कृष्ट अभिकर्ता, एजेन्सी म्यानेजर, क्षेत्रीय म्यानेजर तथा विभिन्न शाखा प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश प्रमुख नवराज चौधरीको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा मधेश प्रदेशअन्तर्गतका विभिन्न शाखाका अभिकर्ता, एजेन्सी म्यानेजर, शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता थियो ।
कार्यक्रममा मधेश प्रदेश प्रमुख नवराज चौधरीले कम्पनीको आगामी व्यावसायिक योजना तथा कार्यक्रमबारे जानकारी गराउँदै अभिकर्ताहरूलाई कम्पनीका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यवसाय विस्तारमा थप सक्रिय हुन आग्रह गरे । उनले मधेश प्रदेशमा बीमाको पहुँच विस्तार गर्न अभिकर्ताको भूमिका महत्वपूर्ण रहेको बताए । त्यसैगरी, प्रमुख बजार अधिकृत गणेश चौलागाईंले अभिकर्ताको हकहित, सेवा–सुविधा तथा व्यावसायिक विकासलाई कम्पनीले प्राथमिकतामा राख्दै आएको बताए । अभिकर्ताहरूको व्यावसायिक यात्रालाई सहज बनाउन कम्पनी सहकार्य र सहजीकरणका लागि सधैँ तयार रहेको उल्लेख गर्दै उनले आगामी दिनमा अभिकर्तामुखी कार्यक्रम तथा प्रोत्साहनका योजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सन नेपाल लाइफले मधेश प्रदेशमा आफ्नो छुट्टै पहिचान र सकारात्मक व्यावसायिक छवि निर्माण गर्न सफल भएको बताए । कम्पनीको यो सफलतामा मधेश प्रदेशका अभिकर्ता, एजेन्सी म्यानेजर तथा शाखा टोलीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले उनीहरूको मेहनत, लगनशीलता र निरन्तर प्रयासका लागि धन्यवाद तथा आभार व्यक्त गरे । उनले आगामी दिनमा मधेश प्रदेशमा बीमाको पहुँच थप विस्तार गर्दै अभिकर्ता तथा एजेन्सी सञ्जाललाई सशक्त बनाउने बताए । साथै, उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई निरन्तर प्रोत्साहन र सम्मान प्रदान गर्दै उनीहरूको व्यावसायिक क्षमता अभिवृद्धिमा कम्पनीले विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी म्यानेजर तथा एजेन्सी समूहअन्तर्गतका योग्य अभिकर्ताहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो। सम्मानले अभिकर्ताहरूमा थप उत्साह र ऊर्जा प्रदान गर्नुका साथै आगामी दिनमा अझ उत्कृष्ट व्यावसायिक उपलब्धि हासिल गर्न प्रेरणा मिलेको सहभागीहरूले बताएका छन् । कार्यक्रमले अभिकर्ता उत्प्रेरणा, नेतृत्व विकास, व्यावसायिक क्षमता अभिवृद्धि तथा कम्पनी र अभिकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ ।
सन नेपाल लाइफले हाल देशभर एक सय ५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा तथा बीमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । कम्पनीले बीमाको पहुँचलाई थप व्यापक बनाउँदै अभिकर्ता सञ्जालको विकास, उत्कृष्ट ग्राहक सेवा र दिगो व्यावसायिक वृद्धिलाई प्राथमिकतामा राखेर आफ्नो यात्रा अघि बढाइरहेको जनाएको छ ।