विराटनगर, मोरङ उद्योग व्यापार संघको ६९औं वार्षिक साधारणसभाले ३५औँ कार्यसमिति गठनका लागि निर्वाचन मिति तोकेपछि विराटनगरको उद्योगी एवं व्यावसायिक क्षेत्रमा व्यापक चुुनावी सरगर्मि चलेको छ ।
संघको कार्यकारिणी सदस्यको निर्वाचन भदौ २८ गते हुँदैछ । पछिल्लो समय विराटनगरमा मोरङ उद्योग व्यापार संघको नयाँ कार्यसमिति निर्वाचनलाई लिएर उद्योगी व्यवसायीका बीचमा व्यापक लविङ्ग सुरु हुन थालेको छ । निर्वाचनको समय सीमा निर्धारण भएसँगै मोरंग उद्योग व्यापार संघको आगामी नेतृत्वका लागि व्यवसायीको दौडधुप नै चलेको हो । तर मोरङ उद्योग व्यापार संघको चुनावमा केही ठूला उद्योगीहरूकोे ठाडो हस्तक्षेपले गर्दा संघमा आबद्ध रहेका उद्योगी एवं व्यवसायीले असन्तुष्टिसमेत व्यक्त गर्न थालेका छन् । आफुलाई वरिष्ठ उद्योगी भन्न मन पराउने र मोरङ उद्योग व्यापार संघको पूर्व अध्यक्षसमेत भइसकेकाले संस्थामा हस्ताक्षेप गरेको उनीहरूको भनाइ छ ।
हाल समानान्तर संस्था नेपाल उद्योग परिसंघको जिम्मेवार पदमा बसेका केही उद्योगीहरूले पनि संघमा चासो देखाउन थालेका छन् । परिसंघका पदाधिकारीहरूले समेत संघको कार्यसमितीको लागि अमुक व्यक्तिलाई अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा ल्याउनै पर्दछ भनी लविङ्ग सुरु गरेको यहाँका व्यवसायीहरूको भनाइ छ ।
यसले मोरङ उद्योग व्यापार संघको आगामी निर्वाचन थप रोचक हुने देखिएको छ । विवाद रहित भएर बसेका संघका पुर्व अध्यक्षहरू शुरेस शर्मा, ताराचन्द खेतान र देवेन्द्रराज राजगढिया जस्ता व्यक्तिहरूसमेत यो निर्वाचनमा आगामी नेतृत्व चयनका विषयमा आलोचित बन्दै गएका छन् ।
पूर्व अध्यक्षहरूले जथाभावी हस्तक्षेप गरी कुनै अमुक व्यक्तिको पक्षमा व्यापक लविङ्ग गर्न थालेपछि व्यवसायी एवं औद्योगिक क्षेत्रमा व्यापक असन्तुष्टि बढेको हो । पछिल्लो समय स्थानीय व्यवसायीको एउटा ठूलो समूह संघको आगामी नेतृत्वका लागि निर्विवादित उद्योगीलाई निर्वाचीत गर्नुुपर्ने पक्षमा छन् भने यता पूर्व अध्यक्षहरू भने आफू अनुकूलको व्यक्ति ल्याउने प्रयासमा लागेका छन् । हालसम्म संघको अध्यक्षका लागि उम्मेद्वार नै सार्वजानिक रुपमा घोषणा भने भइसकेको छैन । तर आकाक्षीहरू भित्रभित्रै आफ्नो लविमा लागेका छन् । आगामी आइतबार १६ जना कार्यकारिणी सदस्यका लागि निर्वाचन हुन्छ ।
कार्यकारिणी सदस्यबाट बहुमतको आधारमा अध्यक्ष निर्वाचीत हुन्छ । त्यस पश्चात् उक्त कार्यकारिणी समितिले नै वरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष चयन गर्ने व्यवस्था संघको विधानमा रहेको छ ।