काठमाडौं, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच ऋणीगत (एकल) कृषी कर्जा सुरक्षण योजनासम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यालय टंगाल काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममार्फत सो समझदारी–पत्रमा हस्ताक्षर भएको बैंकले जानकारी दिएको छ ।
उक्त समझदारी–पत्रमा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिला राम गिरीले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा कोषका प्रबन्धक विक्रान्त आचार्य, बैंकको कृषि तथा सामाजिक बैंकिङ विभागका विभागीय प्रमुख विश्व प्रकाश ज्ञवाली, उप–प्रबन्धक राजन घिमिरेलगायत कर्मचारीको उपस्थिति रहेको थियो ।
समझदारी–पत्रमा उल्लेख भए अनुसार कृषी कर्जा सुरक्षण योजना काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका र तातोपानी गाउँपालिका, सुर्खेतको विरेन्द्रनगर नगरपालिका, बाजुराको बुढीगंगा नगरपालिका, बुढीनन्दा नगरपालिका र त्रिवेणी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिका गरी नौवटा स्थानीय तहमा सञ्चालन हुनेछ । साथै, उल्लेखित स्थानीय तहहरूमा दुई वर्षसम्म प्रति स्थानीय तह आठ करोड रुपैयाँका दरले १६ करोड सम्म लगानी गरिनेछ । उक्त योजनामा कर्जाको सीमाप्रति ग्राहक दुई लाख ५० हजारदेखि तीन करोड रुपैयाँसम्म र कर्जाको अवधि सात वर्षको हुने व्यवस्था रहेको छ ।
समझदारी–पत्र बमोजिम कर्जाको सुरक्षणार्थ रहने सुरक्षण कोष स्थापनाका लागि निक्षेप तथा कर्जा सुरक्षण कोषको १० करोड ५० लाख, योजना सञ्चालन हुने स्थानीय तहको प्रति स्थानीय तह ५० लाखका दरले नौवटा स्थानीय तहको चार करोड ५० लाख र संयुक्त राष्ट्र संघीय पुँजी विकास कोषमार्फत प्राप्त हुने संयुक्त राष्ट्र संघ दिगो विकास लक्षसम्बन्धी संयुक्त कोषको १५ करोड योगदान रहने गरी कुल ३० करोड रुपैयाँको सुरक्षण कोष रहने व्यवस्था गरिएको छ । उक्त योजना कार्यान्वयनमार्फत उद्यमशीलताको विकास, उत्पादकत्व अभिवृद्धि, खाद्य सुरक्षा र रोजगारी सिर्जनामार्फत राष्ट्रिय अर्थतन्त्रको दिगो एवं उत्थानशील विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले हाल सातवटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी तीन सय १६ वटा शाखा कार्यालयहरू तथा तीन सय ३५ वटा एटीएम टर्मिनलमार्फत ४८ लाखभन्दा बढी ग्राहकलाई निक्षेप, कर्जासहित एटीएम, मोबाइल बैंकिङलगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरू उपलब्ध गराइरहेको छ ।