दाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो ।
मुख्यमन्त्री आचार्यलाई नेपाल कम्युनिस्ट पाटी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चा पार्टी र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् । प्रदेशसभामा कायम ८३ मध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भए । विश्वासको मतको पक्षमा परेको ४५ मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको सभामुख तुलाराम घर्तीमगरले घोषणा गरे । प्रदेशसभा बैठकमा आठ जना सांसद अनुपस्थित थिए ।
बैठकको हाजिरी अभिलेखअनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिषकुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा बैठकमा अनुपस्थित रहेकी हुन् । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद भने तटस्थ थिए ।नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् । कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकारको पक्षमा रहेको दलको समर्थन कायम राख्दै मुख्यमन्त्री आचार्यले बहुमत जुटाएका हुन् ।