जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गौरदाहादेखि लखौरीसम्म सडक निर्माणका लागि ठेक्काको बोलपत्र आह्वान तथा बोलपत्र आशयको सूचना प्रकाशित नगरी झुट्टा प्राविधिक बिल, नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार पारेर सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारको अनुसन्धानबाट सडक निर्माणमा वास्तविक रूपमा काम नै नभए पनि झुट्टा प्राविधिक बिल, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार पारेर रकम भुक्तानी लिएको तथ्य फेला परेको आयोगले जनाएको छ ।आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी र लेखापाल राधेश्याम रायविरुद्ध २६ लाख ६४ हजार ६२४ रुपैयाँ बिगो दाबी गरेको छ । त्यस्तै, कम्युनिटी मेडिसिन असिस्टेन्ट उमेर साह र तत्कालीन शिक्षा शाखा प्रमुख अनिलकुमार साहुविरुद्ध २४ लाख १५ हजार १२० रुपैयाँ बिगो दाबी गरिएको छ ।
उक्त प्रकरणमा अमृत मिडिया प्रालि तथा उक्त कम्पनीका प्रोप्राइटर राजेन्द्र यादव, जनकपुर टुडे मिडिया ग्रुप प्रालि तथा जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक बृजकुमार यादव, साइन कन्स्ट्रक्सन धनुषा तथा उक्त कम्पनीका प्रोप्राइटर विकासप्रसाद यादव, एसकेवाइ इन्जिनियरिङ एन्ड ट्रेकिङ प्रालि तथा उक्त कम्पनीका प्रोप्राइटर रामनारायण साह र असिस्टेन्ट सब–इन्जिनियर शुभाषकुमार महरामाथि पनि २४ लाख १५ हजार १२० रुपैयाँ बिगो दाबी गरिएको छ । अख्तियारले उनीहरू सबैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा जरिवानाको सजाय माग गर्दै विशेष अदालतसमक्ष अभियोगपत्र दायर गरेको जनाएको छ ।