न्युयोर्क, सन् २०२५ मा विश्वभर ३५० सहायताकर्मी मारिएका छन् संयुक्त राष्ट्र मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए)ले जनाएको छ । ओसीएचएका अनुसार विश्वभर ३५० सहायताकर्मी मारिएका र सबैभन्दा बढी गाजा र सुडानमा मारिएका छन् । संयुक्त राष्ट्रसंघले सोमबार मानवतावादीमाथिको आक्रमणलाई ‘अस्वीकार्य’ बताएको छ ।
एएफपीका अनुसार यो मृत्यु संख्या सन् २०२४ को ३७७ भन्दा केही कम हो । संयुक्त राष्ट्र मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए)ले विश्व मानवतावादी दिवसको अवसरमा अनुसन्धान र सल्लाहकार समूह ह्युम्यानिटेरियन आउटकम्सका तथ्यांक उल्लेख गर्दै यो विवरण दिएको छ । गत वर्ष सबैभन्दा धेरै गाजामा १८६ सहायताकर्मी मारिएका छन् । यो सहायताकर्मीका लागि लगातार तेस्रो वर्ष सबैभन्दा घातक ठाउँ बनेको छ । त्यसपछि सुडानमा ७१ जना सहायताकर्मीको मृत्यु भएको छ ।
‘केवल तीन वर्षमा एक हजारभन्दा बढी सहायताकर्मी मारिएका छन् र यो पूर्ण रूपमा अस्वीकार्य छ’, मानवीय मामिलाका उपमहासचिव टम फ्लेचरले वक्तव्यमा भनेका छन् । उनले भने, ‘यसलाई औँल्याउँदैमा अर्को सहायताकर्मीको सुरक्षा हुँदैन । राज्यहरूले अन्तर्राष्ट्रिय मानवीय कानून पालना गर्नुपर्छ र नागरिक तथा हाम्रा सहकर्मीहरूको सुरक्षाका लागि हरेक साधन प्रयोग गर्नुपर्छ । नियम तोड्नेहरूले वास्तविक कानुनी भागिदार हुनुपर्छ ।’ सन् २०२६ को सुरुदेखि विश्वभर थप ८२ सहायताकर्मी मारिएका, ९७ घाइते र ३९ अपहरण गरिएका छन् ।
ओसीएचएले सशस्त्र ड्रोनको व्यापक प्रयोगप्रति विशेष चिन्ता व्यक्त गरेको छ । ड्रोनले ‘घातक शक्ति अझ धेरै हातमा पुर्याउँदै शहर र नगरमा विस्फोटक हतियार पठाइरहेको छ ।’ सुडानमा सन् २०२६ का पहिला चार महिनामा सशस्त्र ड्रोनले नागरिक मृत्युको ८० प्रतिशत हिस्सा ओगटेको छ जसले बजार र स्वास्थ्य सुविधामा आक्रमण गरेको वक्तव्यमा उल्लेख छ । रूस–युक्रेन युद्धमा पनि ड्रोन आक्रमणबाट हताहत भएको उल्लेख गरिएको छ । हतियारयुक्त ड्रोन नागरिक जीवनको जानाजान वा लापरवाहीपूर्ण विनाश बनेको फ्लेचरले बताएका छन् ।