आधुनिक सभ्यताको विकाससँगै बिजुली मानव जीवनको अभिन्न आधार बनेको छ । आजको युगमा बिजुली विना दैनिक जीवनको कल्पना गर्न सकिँदैन । घर, कार्यालय, विद्यालय, अस्पताल, उद्योग, व्यापार, कृषि, यातायातदेखि सञ्चार र सूचना प्रविधिसम्म प्रत्येक क्षेत्रमा बजुलीको प्रत्यक्ष भूमिका रहेको छ । बिजुलीलाई आधुनिक युगमा विद्युत् भनेर चिनिन्छ । विद्युत्ले मानिसको जीवनलाई सहज, सुरक्षित, उत्पादनशील तथा गुणस्तरीय बनाएको छ ।
नेपाल प्राकृतिक जलस्रोतका दृष्टिले विश्वका धनी राष्ट्रहरूमध्ये एक हो । जलविद्युत् उत्पादनको विशाल सम्भावना भए तापनि विगतमा विद्युत् पहुँच र आपूर्तिमा धेरै चुनौतीहरू थिए । पछिल्ला वर्षहरूमा विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीमा उल्लेखनीय सुधार भई ९९ प्रतिशत भन्दा बढी नेपाली नागरिक विद्युत् सेवाको पहुँचमा पुगेका छन् । विद्युत् उत्पादन मात्र पर्याप्त हुँदैन, यसको सही उपयोग, संरक्षण र सुरक्षापूर्ण व्यवहारले मात्र यसको वास्तविक लाभ समाजले प्राप्त गर्न सक्छ । विद्युत्को उपलब्धतासँगै यसको सुरक्षित, मितव्ययी र जिम्मेवार प्रयोगसम्बन्धी ज्ञान पनि समयको क्रमसंगै उत्तिकै आवश्यक भएको छ । विद्युत् केवल एउटा सेवा होइन, यो आर्थिक विकास, सामाजिक रूपान्तरण, वातावरणीय संरक्षण तथा राष्ट्रिय समृद्धिको आधार हो । त्यसैले हरेक नागरिकले दैनिक जीवनमा आवश्यक पर्ने आधारभूत विद्युत्सम्बन्धी ज्ञान प्राप्त गर्नु आजको आवश्यकता मात्र होइन नागरिक जिम्मेवारी र कर्तव्य पनि हो ।
आजको अत्याधुनिक युगमा हाम्रो बिहानदेखि रातिसम्मको अधिकांश जीवन बिजुलीमै निर्भर रहेको छ । चाहे घरमा होस् वा कार्यालयमा होस् वा उद्योग धन्दाहरूमा होस् वा आवास गृहमा नै किन नहोस् झुपडीदेखि दरबारसम्म बिजुली बत्ति जडान भएकै हुन्छ । बत्ती बाल्ने, खाना बनाउने, मोबाइल चार्ज गर्ने, कम्प्युटर चलाउने, हिटर चलाउने, पंखा, एसी, कुलर चलाउने, इन्टरनेट प्रयोग गर्ने, अस्पतालका उपकरण सञ्चालन गर्ने, उद्योगधन्दा चलाउने तथा कृषि क्षेत्रमा सिँचाइ गर्ने कार्यसम्म बिजुलीको प्रत्यक्ष प्रयोग हुन्छ । यसप्रकारको बिजुली केवल भौतिक सुविधा मात्र होइन, आजको जीवनको आधारभूत र अपरिहार्य आवश्यकता पनि हो । त्यसैले विद्युतका उपभोक्ता र सबै सरोकारवालाहरूमा यसको सुरक्षित, व्यवस्थित र किफायतीपूर्ण उपयोगको उचित र आधारभुत ज्ञान दिलाउन यो लेख केन्द्रित रहेको छ ।
कानुनको अज्ञानता क्षम्य हुँदैन भने जस्तै विद्युतीय सुरक्षाको दृष्टिले विद्युतीय हेलचक्राइँ पनि क्षम्य हुँदैन भन्ने उद्गार हिजोआज विकसित भएको छ । विद्युत्को ज्ञान नभएर वा ज्ञान भएर पनि लापरवाहीपूर्ण ढंगले प्रयोग हुँदा आगलागी भई विशाल धनराशी नष्ट हुन सक्ने मात्र नभई मानिसको ज्यूज्यानै खतरामा पर्ने संभावना भएकोले दैनिक जीवनमा बिजुलीको प्रयोग गर्दा यसको आधारभुत ज्ञान हुनु अति आवश्यक छ ।
बिजुलीलाई हामी देख्न सक्दैनौँ, तर यसको प्रभाव सहजै महसुस गर्न सक्दछौ । सुरक्षित रूपमा प्रयोग गरियो भने बिजुलीले जीवनलाई सहज, सरल र समृद्ध बनाउँछ; असावधानी अपनाइयो भने यसले दुर्घटना निम्त्याउन सक्छ । त्यसैले घरायसी जीवनमा बिजुलीको प्रयोग गर्दा निम्न कुरामा विशेष ध्यान दिनुपर्छ–
- भिजेको वा चिसो हातले स्विच वा विद्युतीय उपकरण नछुने,
- खुला वा क्षतिग्रस्त तार प्रयोग नगरी गुणस्तरीय तार प्रयोग गर्ने,
- गुणस्तरहीन प्लग, मल्टिप्लग तथा तारको प्रयोग नगर्ने,
- एउटै सकेटमा क्षमताभन्दा बढी अत्यधिक उपकरण जडान नगर्ने,
- आकाशमा गड्याङगुडुङ गर्दा वा बिजुली चम्कँदा विद्युतीय उपकरणहरू प्रयोग नगर्ने,
- घरमा उचित अर्थिङ तथा ऋष्चअगष्त द्यचभबपभच जडान गर्ने,
- बालबालिकालाई खुला सकेट तथा तारबाट टाढा राख्ने वा अटोमेटिक बन्द हुने सकेट प्रयोग गर्ने,
- ट्रान्समिसन लाइन मुनी वा लाइनको निर्धारीत मापदण्डभित्र कुनै घर वा अन्य संरचना नबनाउने,
- घरमा करेन्ट लिकेज भएको लक्षण देखिएमा तुरुन्त दक्ष प्राविधिकको सहायता लिने,
- घरभित्र विद्युत् मर्मत गर्दा मुख्य स्विच बन्द गर्ने,
- विद्युतसम्बन्धी कुनै पनि समस्या देखिएमा दक्ष प्राविधिकको सहायतामार्फत तुरुन्त समाधान गर्ने,
- विद्युतको चोरी कार्यमा अझ बढी दुर्घटना हुन सक्ने भएकोले यस्तो कार्य नगर्ने वा गर्न दुरुत्साहन नगर्ने, आदि ।
घरमा कसैलाई करेन्ट लागिसकेपछि अपनाउनुपर्ने सावधानीहरू :
- सबैभन्दा पहिले घरमा जडित विद्युत्को मिटबाट मुख्य स्वीच अफ गरी विद्युत् आपूर्ति बन्द गर्ने,
- तुरुन्त मुख्य स्विच अफ गर्न सम्भव छैन भने घाइतेसंग प्रत्यक्ष सम्पर्क नगरी सुख्खा काठ, प्लास्टिक वा इन्सुलेटेड वस्तुको प्रयोग गरी लाइन छुट्याउने,
- विद्युत् सम्पर्कबाट अलग गरेपछि घाइते व्यक्तिको होस् र स्वासप्रश्वास जाँच गर्ने,
- घाइतेलाई आवश्यक प्राथमिक उपचार गरी तुरुन्त स्वास्थ्य संस्थामा पुर्याउने,
- घरभन्दा बाहिर वा खुला ठाउँमा विद्युतीय दुर्घटना भएमा सम्बन्धित विद्युत् कार्यालय वा आपतकालीन सेवामा जानकारी गराउने, आदि ।
विद्युतको किफायती उपयोग गर्न अपनाउनुपर्ने उपायहरू :
विद्युत् बचत गर्नु भनेको केवल बिल घटाउनु मात्र होइन, राष्ट्रिय स्रोतको संरक्षण गर्नु पनि हो । विद्युत् बचत गर्ने केही प्रभावकारी उपायहरू यसप्रकार छन्–
- बत्ती बाल्नका लागि एलईडी बल्बको प्रयोग गर्ने,
- आवश्यक नभएको समयमा बत्ती तथा अन्य विद्युतीय उपकरण बन्द गर्ने,
- घर तथा भान्सामा ऊर्जा दक्षतायुक्त उपकरणहरू प्रयोग गर्ने,
- मोबाइल चार्जर, आइरन, हिटरलगायत अन्य उपकरण प्रयोगपछि प्लगबाट निकाल्ने,
- सकेसम्म प्राकृतिक प्रकाशको अधिकतम उपयोग गर्ने,
- एसी तथा गिजर आवश्यकताअनुसार मात्र सञ्चालन गर्ने,
- विद्युतीय उपकरणहरूको नियमित चेकजाँच तथा आवश्यक मर्मत सम्भार गर्ने, आदि ।
विद्युत खेर जानु पनि सम्पत्तिको नाश हो । एक युनिट विद्युत् बचत गर्नु भनेको एक युनिट विद्युत् उत्पादन गर्नु जत्तिकै हो । त्यसैले विद्युत्को भरपूर तर किफायतीपूर्ण उपयोग गरी यस्तो राष्ट्रिय सम्पत्तिको दिगो र प्रभावकारी उपयोग गर्नु सबैको दायित्व हो । विद्युत्को सफलता केवल प्राविधिक दक्षतामा मात्र निर्भर हुँदैन, सुरक्षा अनुशासन, स्पष्ट सञ्चार, प्रभावकारी समन्वय र निर्धारीत मापदण्डको पूर्ण पालनामा पनि उत्तिकै निर्भर हुन्छ ।
फिल्डमा खटिने प्रत्येक प्राविधिक कर्मचारीले ’पहिले सुरक्षा, त्यसपछि कार्य’ भन्ने सिद्धान्तलाई आत्मसात् गरी व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग, विद्युत् नियन्त्रण कक्षसँगको समन्वय तथा टोलीगत कार्यसंस्कृतिको पालना गरेमा दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ । त्यसैगरी सेवाग्राहीहरूले पनि विद्युत्को सुरक्षित र नतिजामुखी उपयोगको ज्ञान राखी यसको संवेदनशीलता र सान्दर्भिकताअनुसार उपयोग गर्नु पर्दछ । सुरक्षित सेवाग्राही, सुरक्षित कर्मचारी र सुरक्षित प्रणाली नै विश्वसनीय र गुणस्तरीय विद्युत् व्यवस्थापनको आधार हो । आगामी दिनमा विद्युत्को पहुँचसँगै विद्युत् साक्षरताको विस्तार पनि समान रूपमा आवश्यक छ । यसरी हरेक नागरिकले ’विद्युतको सुरक्षित प्रयोग गरौँ, ऊर्जा बचत गरौँ, राष्ट्रिय सम्पत्ति संरक्षण गरौँ’ भन्ने भावना आत्मसात् गर्दै सो बमोजिमको व्यवहार गर्न सकेमा मात्र उज्यालो, सुरक्षित, समुन्नत र समृद्ध नेपालको लक्ष्य हासिल गर्न सहज हुने देखिन्छ । (लेखक नेपाल विद्युत् प्राधिकरणका सहायक निर्देशक हुन् ।)