काठमाडौं, सरकारले चालू आर्थिक वर्ष २०८३/८४ को लागि गरेको आयकरको नयाँ व्यवस्था कार्यान्वयनमा आएको छ । यसअनुसार करदाताले एकदेखि २९ प्रतिशतसम्म तिर्नुपर्नेछ । सरकारले कायम गरेको करको दरअनुरूप वार्षिक ६० लाख आम्दानी गर्नेले १२ लाख ४५ हजार आयकर तिनुपर्नेछ । यो आयकर एकल र दम्पती दुवैमा लागू हुनेछ ।
आन्तरिक राजस्व विभागका अनुसार १० लाखसम्म करयोग्य आय भएमा एक प्रतिशत अर्थात् १० हजार, १० लाखभन्दा माथि १५ लाखसम्मको करयोग्य आयमा १० प्रतिशत अर्थात् ५० हजार र १५ लाखभन्दा माथि २५ लाखसम्म २० प्रतिशत अर्थात् दुई लाखसम्म आयकर तिुनपर्नेछ । यसैगरी २५ लाखभन्दा माथि ४० लाखसम्मकोे करयोग्य आयमा २७ प्रतिशत अर्थात् चार लाख पाँच हजार र ४० लाखभन्दा माथि जतिसुकै करयोग्य आयमा २७ प्रतिशत र दुई प्रतिशत गरी कुल २९ प्रतिशत अर्थात् पाँच लाख ८० हजार आयकर लाग्नेछ । ४० लाखभन्दा माथि करयोग्य आयमा थप दुई प्रतिशतले अतिरिक्त कर लगाएको पाइन्छ । उक्त करका दर एकल र दम्पतीलाई भने एकै रहेको विभागका सूचना अधिकारी केशव रघुवंशीले जानकारी दिए ।
उनका अनुसार नागरिकहरूको विभिन्न आयमा भने कर छुट दिएको छ । अवकाश योगदान रकम, दुर्गम भत्ता सुविधा, वैदेशिक भत्ता र निवृत्तभरण आयलगायतमा छुट दिएको उनले बताए । विभागका अनुसार आयमा समावेश नहुने रकम वा खर्चमा छुट हुने रकमअन्तर्गत कुनै आय वर्षमा स्वीकृत अवकाश कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले अवकाश कोषमा अवकाश योगदान गर्दा पाँच लाख रुपैयाँ वा निजको निर्धारणयोग्य आयको एक तिहाइमा जुन घटी हुन्छ, सो रकमसम्म आफ्नो करयोग्य आयबाट घटाउन सक्नेछ ।
दुर्गम भत्ता सुविधाअन्तर्गत भने दुर्गम क्षेत्रमा कार्यरत प्राकृतिक व्यक्तिको करयोग्य आयबाट रकम घटाउन पाउनेछ । सरकारले तोकेको ‘क’ वर्गका क्षेत्रमा ५० हजार, ‘ख’ वर्गका क्षेत्रमा ४० हजार, ‘ग’ वर्गका क्षेत्रमा ३० हजार, ‘घ’ वर्गका क्षेत्रमा २० हजार र ‘ङ’ वर्गका क्षेत्रमा १० हजार करयोग्य आयबाट रकम घटाउन पाइनेछ । यसैगरी नेपालका विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई प्राप्त हुने वैदेशिक भत्ताको ७५ प्रतिशत रकम करयोग्य आयबाट घटाउन पाउनेछन् । निवृत्तिभरण आय भएको व्यक्तिले पाउने छुट सुविधाअन्तर्गत प्राकृतिक व्यक्तिको निवृत्तिभरण आय रहेछ भने त्यस्तो व्यक्तिले करयोग्य आयबाट निजले छुट पाउने सीमामा २५ प्रतिशत रकम घटाउन पाउने छन् ।
अपाङ्ग व्यक्तिले पाउने छुट सुविधाअन्तर्गत प्राकृतिक व्यक्ति अपाङ्ग रहेछ भने त्यस्तो व्यक्तिले करयोग्य आयबाट निजले छुट पाउने सीमामा थप ५० प्रतिशत रकम घटाउन पाउनेछन् । लगानी बीमामा छुट सुविधाअन्तर्गत व्यक्तिले लगानी बीमा गरेको रहेछ भने त्यस्तो बीमाबापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा ४० हजार रुपैयाँमा जुन घटी हुन्छ, सो रकम करयोग्य आयबाट घटाउन पाउनेछन् । स्वास्थ्य बीमाबापत तिरेको प्रिमियम भने व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग स्वास्थ्य बीमा गरेको रहेछ भने त्यस्तो बीमाबापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा २० हजार रुपैयाँमा जुन घटी हुन्छ, सो रकम करयोग्य आयबाट घटाउन पाउनेछन् ।
आफ्नो स्वामित्वमा रहेको निजी भवनको बीमाबापत तिरेको प्रिमियमअन्तर्गत व्यक्तिले बीमा कम्पनीसँग आफ्नो स्वामित्वमा रहेको निजी भवनको बीमा गरेको रहेछ भने त्यस्तो बीमाबापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा १० हजार रुपैयाँमा जुन घटी हुन्छ, त्यस्तो रकम करयोग्य आयबाट घटाउन पाउनेछन् । आफ्नो सन्ततिको शिक्षाका लागि बासिन्दा व्यक्तिलाई शिक्षण शुल्कबापत भुक्तानी गरेको वार्षिक रकमअन्तर्गत यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिले आफ्नो सन्ततिको शिक्षाका लागि बासिन्दा व्यक्तिलाई शिक्षण शुल्कबापत भुक्तानी गरेको वार्षिक रकमको २५ प्रतिशत वा २५ हजार रुपैयाँमा जुन घटी हुन्छ, त्यस्तो रकम करयोग्य आयबाट घटाउन पाउनेछन् ।
यसैगरी महिलालाई कर छुटको व्यवस्था गरिएको छ । पारिश्रमिक आय मात्र हुने महिलालाई लाग्ने करमा छुटअन्तर्गत कुनै बासिन्दा प्राकृतिक व्यक्ति पारिश्रमिक आय मात्र आर्जन गर्ने महिला रहेछ भने त्यस्तो प्राकृतिक व्यक्तिले तिर्नुपर्ने कर रकममा १० प्रतिशत छुट हुनेछ । स्वीकृत औषधि उपचार खर्चबापत बिलबमोजिमको वास्तविक खर्चअन्तर्गत स्वीकृत औषधि उपचार खर्चबापत बिलबमोजिमको वास्तविक खर्च रकमको १५ प्रतिशत वा सात सय ५० रुपैयाँमा जुन घटी हुन्छ, उक्त रकम कर मिलान गर्न सकिनेछ ।
पूर्वानुमानित कर आय विवरण पेस गर्नेका लागि भने व्यक्तिले व्यवसायबाट प्राप्त करयोग्य आय तीन लाख रुपैयाँसम्म र व्यवसायको कारोबार वार्षिक ३० लाख रुपैयाँभन्दा बढी नभएको करदाताको हकमा दुई हजार पाँच सयदेखि सात हजार पाँच सयसम्म आयकर लाग्नेछ । महानगरपालिका वा उपमहानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने व्यक्तिको हकमा सात हजार पाँच सय, नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने व्यक्तिको हकमा चार हजार र महानगर र उपमहानगर क्षेत्रबाहेक अन्य क्षेत्रमा व्यवसाय गर्ने व्यक्तिको हकमा दुई हजार पाँच सय आयकर लाग्नेछ । आयकर ऐन, २०५८ को दफा ४ को उपदफा ९४० बमोजिम उक्त कर निर्धारण गरिएको सूचना अधिकारी रघुवंशीले जानकारी दिए ।
कारोबारको आधारमा लाग्ने कर आय विवरण पेश गर्नेका लागि नेपालमा स्रोत भएको व्यवसायबाट प्राप्त आय मात्र भएको, व्यवसायबाट प्राप्त करयोग्य आय १० लाख रुपैयाँसम्म र व्यवसायको कारोबार ३० लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म भएको तथा चिकित्सक, इन्जिनियरजस्ता पेसाविद्बाट प्रदान गरिने परामर्श तथा विशेषज्ञ सेवाबापतको आय नभएको करदाताको हकमा देहायअनुसार खण्ड (क) र (ख) वा (क), (ख) र (ग) को जोडबमोजिमको कर दाखिला गर्नुपर्दछ । महानगरपालिका वा उपमहानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिको हकमा सात हजार पाँच सय, नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिको हकमा चार हजार र महानर र नगरपालिका क्षेत्रबाहेक अन्य क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिको हकमा दुई हजार पाँच सय आयकर लाग्नेछ । आयकर ऐन, २०५८ को दफा ४ को उपदफा (४क) बमोजिम उक्त आयकर निर्धारण गरिएको हो ।
त्यस्तै विभिन्न प्रकारको व्यवसाय तथा ३० लाखभन्दा बढी ५० लाखसम्मको कारोबार गर्ने व्यसायलाई बढीमा दुई प्रतिशतसम्म कर तोकिएको छ । जसमा ग्यास, सिगार, सुर्तीलगायतका तीन प्रतिशतसम्म कमिसन वा मूल्य थप गरी वस्तुको कारोबार गर्ने व्यक्तिलाई ३० लाखभन्दा बढी ५० लाखसम्मको कारोबार गरेमा शून्य दशमलव २५ प्रतिशत कर लाग्नेछ । उक्त व्यवसायबाहेकको व्यवसाय गर्ने व्यक्तिलाई ३० लाखभन्दा बढी ५० लाखसम्मको कारोबार रकमको एक प्रतिशत र सेवा व्यवसाय गर्ने व्यक्तिलाई ३० लाखभन्दा बढी ५० लाखसम्मको कारोबार रकम गरेमा दुई प्रतिशत कर लाग्नेछ ।
यसैगरी ५० लाखभन्दा बढी एक करोडसम्मको कारोबारमा पनि अधिकतम दुई प्रतिशत करको व्यवस्था गरिएको छ । जसमा ग्यास, सिगार, सुर्तीलगायतका तीन प्रतिशतसम्म कमिसन वा मूल्य थप गरी वस्तुको कारोबार गर्ने व्यक्तिलाई ५० लाखभन्दा बढी एक करोडसम्मको कारोबार रकमको शून्य दशमलव तीन प्रतिशत कर तोकिएको छ । उक्त व्यवसायबाहेकको व्यवसाय गर्ने व्यक्तिलाई ५० लाखभन्दा बढी एक करोडसम्मको कारोबार रकमको शून्य दशमलव आठ प्रतिशत कर तोकिएको छ । र सेवा व्यवसाय गर्ने व्यक्तिलाई ५० लाखभन्दा बढी एक करोडसम्मको कारोबार रकमको दुई प्रतिशत कर तोकिएको छ ।
गैरबासिन्दा अर्थात् विदेशी नागरिकले कुनै आय वर्षको करयोग्य आयमा ३२५ प्रतिशतका दरले कर लाग्नेछ । गैरबासिन्दा अर्थात् विदेशी नागरिकलाई पुँजीगत लाभमा लाग्ने करअन्तर्गत भने निःसर्ग भएको गैरव्यावसायिक करयोग्य सम्पत्ति ९जग्गा तथा घरजग्गा०को स्वामित्व पाँच वर्ष वा पाँच वर्षभन्दा बढी भएको छ भने सात दशमलव पाँच प्रतिशतका दरले कर लाग्नेछ । निःसर्ग भएको गैरव्यावसायिक करयोग्य सम्पत्ति ९जग्गा तथा घरजग्गा०को स्वामित्व पाँच वर्षभन्दा कम रहेको छ भने १० प्रतिशतका दरले कर लाग्नेछ । र नेपाल धितोपत्र बोर्डमा सूचीकृत भएको निकायमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा सात दशमलव पाँच प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा १० प्रतिशतका दरले कर लाग्नेछ ।
विदेशबाट विदेशी मुद्रामा प्राप्त हुने आयमा लाग्ने कर भने पाँच प्रतिशत तोकिएको छ । जसमा व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपालबाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराएबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भएमा, सम्बन्धित बैंक, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण ९मनी ट्रान्सफर० गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकममा पाँच प्रतिशतका दरले कर लाग्नेछ। व्यक्तिगत रूपमा नेपालबाहिर परामर्श सेवा प्रदान गरेबापत विदेशी मुद्रामा कुनै भुक्तानी प्राप्त गरेको भएमा, सम्बन्धित बैंक, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनी ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकममा पाँच प्रतिशतका दरले कर लाग्नेछ । त्यस्तै, सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरेबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भएमा, सम्बन्धित बैंक, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनी ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकममा पाँच प्रतिशतका दरले कर लाग्ने व्यवस्था गरिएको छ ।
कारोबारको आधारमा कर (टीओटी) तिर्ने व्यक्तिले दुई किस्तामा कर दाखिला गर्नुपर्ने व्यवस्था आयकर ऐनको दफा ९४ को उपदफा (१क) मा रहेको छ । पुस महिनाको अन्त्यसम्म अर्थात् पुस २० गतेसम्मको कारोबारमा तोकिएको दरअनुसार लाग्ने कर कर कार्यालयमा बुझाउनुपर्ने हुन्छ । असार महिनाको अन्त्यसम्म अर्थात् असार २० गतेसम्मको यथार्थ कारोबारको आधारमा असार महिनाको अन्त्यसम्म हुने कारोबार अनुमान गरी तोकिएको दरअनुसार लाग्ने करको गणना गर्ने र सो कर रकमबाट पुस मसान्तभित्र दाखिला गरेको कर घटाई हुन आउने कर रकम कर कार्यालयमा बुझाउनुपर्ने हुन्छ । करदाताले पहिलो किस्ता पुसमा र बाँकी कर असारमा दाखिला गर्नुपर्ने व्यवस्था छ ।