काठमाडौं, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी आगामी भदौ २१ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । प्राप्तिपछि दुवै संस्थाको सम्पूर्ण कारोबार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट सञ्चालन हुनेछ ।
संस्थाका अनुसार एकीकृत कारोबारका लागि आवश्यक स्वीकृति नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्राप्त भइसकेको छ। प्राप्तिपछि दुई संस्थाको व्यवसाय, स्रोतसाधन तथा सेवा संरचना एकीकृत भई एउटै संस्थामार्फत वित्तीय सेवा सञ्चालन हुनेछ । प्राप्तिसम्बन्धी प्रस्ताव स्वरोजगार लघुवित्तको जेठ १ गते सम्पन्न विशेष साधारणसभा र विन नेपाल लघुवित्तको जेठ ५ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित भएको थियो। साधारणसभाबाट प्राप्ति प्रक्रिया अघि बढाउने निर्णय भएपछि नियामकीय स्वीकृतिसहित एकीकृत कारोबारको तयारी पूरा गरिएको हो ।
संस्थाले एकीकृत कारोबार सुरु हुने दिन अर्थात् भदौ २१ गते दुवै वित्तीय संस्थाका सम्पूर्ण कारोबार बन्द रहने जनाएको छ । त्यसपछि प्राप्तिपश्चात् कायम हुने स्वरोजगार लघुवित्त वित्तीय संस्थाले नियमित रूपमा आफ्ना वित्तीय सेवा तथा कारोबार सञ्चालन गर्नेछ । प्राप्तिपछि संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा–५ मा रहनेछ । दुई संस्थाको एकीकरणसँगै कार्यालय, कर्मचारी, ग्राहक सेवा तथा वित्तीय कारोबारलाई नयाँ संरचनाअनुसार व्यवस्थापन गरिनेछ । दुवै लघुवित्त संस्था नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत छन् ।
हाल स्वरोजगार लघुवित्तको ८९ लाख ५६ हजार तीन सय ३७ कित्ता तथा विन नेपाल लघुवित्तको आठ लाख ४३ हजार चार सय छ कित्ता सेयर दोस्रो बजारमा सूचीकृत रहेको छ । प्राप्तिपछि दुई संस्थाको कारोबार एउटै संस्थामार्फत सञ्चालन हुँदा स्वरोजगार लघुवित्तको व्यावसायिक आकार थप विस्तार हुने अपेक्षा गरिएको छ । साथै, वित्तीय स्रोतको प्रभावकारी परिचालन, सञ्चालन क्षमता अभिवृद्धि तथा वित्तीय सेवाको पहुँच विस्तारमा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ । स्वरोजगार लघुवित्त र विन नेपालको प्राप्तिपछि कायम हुने एकीकृत संस्थाले ग्राहक संख्या, कारोबार तथा सेवा पहुँच विस्तार गर्दै थप सशक्त रूपमा अघि बढ्ने आधार तयार हुने कम्पनीको विश्वास छ ।