काठमाडौं, हिमालयन लघुवित्त वित्तीय संस्थाले बाढीपीडितहरूको लागि रकम सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत आसपासका जिल्लाहरूमा भएको ठूलो जनधनको क्षतिप्रति संस्थाले गहिरो दुःख व्यक्त गर्दै प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, बाढीका कारण घाइत भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
संस्थाले प्राकृतिक विपद्का कारण सम्पर्कविहीन हुनुभएका सर्वसाधारण, सरकारी तथा विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरू तथा परिवारजनले व्यहोर्नुपरेको पीडा तथा कठिनाइप्रति संस्था गहिरो सहानुभूति प्रकट गर्दै उद्धार तथा राहत कार्यमा निरन्तर संलग्न सम्पूर्ण सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघसंस्था तथा स्वयंसेवकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।