Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलमजुङमा ‘हाई अल्टिच्युड’को प्याराग्लाइडिङ स्कुल

लमजुङमा ‘हाई अल्टिच्युड’को प्याराग्लाइडिङ स्कुल


काठमाडौं । नेपालमै पहिलोपटक हाई अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले हाई अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा ल्याएको हो ।

तीन हजार नौ सय मिटरमा सञ्चालनमा आएको यस स्कुलमा हाई अल्टिच्युडमा प्याराग्लाइडिङ गर्न चाहनेहरूले तालिम लिन सक्नेछन् । नागरिक उड्डयन प्राधिकरणको स्वीकृति र स्थानीय तहसँगको सहकार्यमा स्कुल सञ्चालनमा ल्याइएको कम्पनी सञ्चालक सानोबाबु सुनुवारले जानकारी दिए । स्कुलमा उच्च हिमाली हावापानीमा कसरी प्याराग्लाइडिङमा उड्ने, कसरी उडाउने भन्नेबारे सिकाइने छ । स्कुलका लागि आवश्यक पूर्वाधार तयारीमा दोर्दी गाउँपालिकाले समेत सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले पालिकामा रहेको भेडीगोठसहितका अन्य गन्तव्यको पर्यटकीय प्रवर्द्धन गर्नका लागि प्याराग्लाइडिङ स्कुल महत्वपूर्ण हुने बताए । ‘पर्यटकीय क्षेत्रमा नै स्कुल सञ्चालन हुँदा स्थानीयलाई रोजगारीको अवसर पनि सिर्जना हुन्छ । यसबाहेक स्थानीयले तालिम समेत लिन मिल्ने भएपछि रोजगारीको नयाँ अवसर समेत पाइने देखिन्छ’, उनले भने ।

कम्पनीले यसअघि नौ वर्षदेखि स्याङजाको भिरकोट नगरपालिका–५ स्वरेक मैदानमा प्याराग्लाइडिङ स्कुल सञ्चालन गर्दै आएको छ ।

नेपालमा हिमाल आरोहणका लागि मात्रै नभई विदेशी पर्यटक हाई अल्टिच्युड प्याराग्लाइडिङको मज्जा लिन पनि आउने नेपाल हवाई खेलकुद संस्था (ना)का निवर्तमान अध्यक्ष कृष्ण भट्टराई बताउँछन् । सामान्य प्याराग्लाइडिङ विश्वको प्रायः ठाउँमा उपलब्ध रहेको भए पनि हाई अल्टिच्युड नभएको उनले बताए । नेपालमा हाइ अल्टिच्युड प्याराग्लाइडिङको उच्च सम्भावना रहेको उनको भनाइ छ । ‘हामीजस्तो हिमालयको मुलुकमा विभिन्न हिमशृङ्खलाहरूबाट प्याराग्लाडिङ गर्न र एक्स्ट्रिम एड्भेञ्चरको मज्जा लिन यहाँ निकै उत्कृष्ट गन्तव्य बन्छ,’ उनले भने ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया