Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपठाओ सुपरफेस्टमा साढे दुई लाख अर्डर डेलिभरी

पठाओ सुपरफेस्टमा साढे दुई लाख अर्डर डेलिभरी


काठमाडौं । पठाओ नेपालले आयोजना गरेको पठाओ सुपरफेस्ट–२०२३ मा साढे दुई लाखभन्दा बढी अर्डर डेलिभरी भएको छ । २१ दिनको सुपरफेस्ट अवधिमा सो बराबरको अर्डर डेलिभरी गरिएको पठाओका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए ।

सामान्य दिनमा पठाओ हिरोहरूले औसत दैनिक नौ सय रुपैयाँ कमाउँदै आएकोमा सुपरफेस्ट अवधिमा दैनिक एक हजार चार सय रुपैयाँ पुगेको थापाले बताए । ‘अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ’ भन्ने नारासहित पुस पाँचदेखि सुपरफेस्ट सुरू गरिएको थियो । सुपरफेस्टमा सम्राटप्रसाद शाह भाग्यशाली विजेता बनेका छन् । सुपरफेस्ट अवधिमा पठाओको सेवा उपभोग गर्नेहरूमध्येबाट लक्की ड्रमार्फत भाग्यशाली बिजेता बनेका शाहलाई ५५ इन्चको ४के एमआई स्मार्ट एनड्रोइड टिभी दिइएको थापाले जानकारी दिए ।

उनका अनुसार पठाओले सुपरफेस्टको नाराबमोजिम केही दिनदेखि एलियन भेषमा पठाओको लोगो अंकित कपडा र झोलासहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूमा केही व्यक्तिहरूलाई उभ्याएको थियो । कम्पनीले यसलाई गुरिल्ला मार्केटिङ भनेको छ । जुन नेपालमै पहिलो पटक गरिएको कम्पनीले जनाएको छ । एलियनहरू पठाओको सुपरफेस्ट देखेर ब्रह्माण्डबाटै फुड खान आएको थिममा कम्पनीले यस्तो प्रचार गरेको थियो । सुपरफेस्टमा पठाओ फुडमा मात्र अफरहरू नभएर राइडहरूमा पनि टन्नै रमाइला अफरहरू दिइएको थियो । कम्पनीले बाइक तथा कार राइड र पठाओ फुडमा ८० प्रतिशतसम्म छुट दिइएको दिइएको थियो ।

कम्पनीका अनुसार यस फेस्टमा एक प्लेटमा २० वटा मःमः, फ्राइज किन्दा बर्गर फ्रि, झोल किन्दा मःमः फ्रि, एक रुपैयाँमै पिज्जा/बर्गर/मःमः/बिर्यानीलगायत अफरहरू राखिएको थियो । अफरहरू हरेक दिन बिहान ९ बजेदेखि राति ९ बजेसम्म फ्ल्यास सेल्स तथा रेष्टुराँ अर्डरहरूमा ८० प्रतिशतसम्मको छुटजस्ता लोभलाग्दा अफर र पठाओ फुडमा निःशुल्क डेलिभरीको सुविधा समेत दिइएको थियो । साथै, ग्राहकहरूलाई हरेक अर्डरमा स्योरसट प्राइजको स्क्र्याच कार्ड दिइएको थियो । कम्पनीका अनुसार सुपरफेस्टमा बेस्ट पठाओ हिरोहरूले साइकल, मोबाइल फोन, ज्याकेट, इन्स्योरेन्स पोलिसीलगायतका उपहार जितेका छन् ।

सुपरफेस्टमा ५० जनाभन्दा बढीले छ महिनाको इन्टरनेट सब्स्क्रिप्सन, एमआई एयरबड्स, एमआई फोन, डोल्पो ज्याकेटलगायत जितेका छन् । यस्तै, १० जना पठाओ हिरोलो स्मार्ट फोन, ज्याकेट समेत जितेको थापाले जानकारी दिए । सुपरफेस्ट अवधिमा रेस्टुरेन्टहरूमा ग्राहकको भन्दा पठाओ हिरोहरूको भिड देखिएको थियो । कम्पनीले यसअघि पनि विभिन्न फेस्टहरू सम्पन्न गरेको थियो । ती फेस्टहरूभन्दा सुपरफेस्टमा ग्राहकहरूको बढी आकर्षण देखिएको थापाले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया