Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकाठमाडौंको बालाजु पार्कको ग्राउण्डवाटर रिचार्ज प्रणाली हस्तान्तरण

काठमाडौंको बालाजु पार्कको ग्राउण्डवाटर रिचार्ज प्रणाली हस्तान्तरण


काठमाडौं । कोका–कोला बेभरेज नेपालले सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटरएड नेपालसँगको साझेदारीमा बालाजु पार्कमा जडान गरेको ग्राउण्डवाटर रिचार्ज प्रणाली कार्यान्वयनमा ल्याएको छ ।

काठमाडौं महानगरपालिका वडा नं १६ बालाजु पार्कमा जडान गरिएको ग्राउण्डवाटर रिचार्ज प्रणाली काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई हस्तान्तरण गरिएको छ । उक्त हस्तान्तरण कार्य कोका–कोला बेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सीआईयुडी) र वाटरएड नेपालले संयुक्तरूपमा गरेकोे हो । सन् २०२३ को अक्टोबरमा औपचारिकरूपमा सुरु भएको उक्त परियोजना माघ ५ गते सम्पन्न भएको थियो । यस रिचार्ज प्रणालीमा २१ वटा फिल्टर चेम्बर, २१ वटा रिचार्ज इनार, दुई डिस्टिलिङ चेम्बर, ७५ फिटको रिचार्ज ट्रेन्च र सात बाँसको चेक ड्यामहरू रहेका छन् ।

उक्त परियोजना सीआईयुडीको प्राविधिक सहयोग र बोटलर्स नेपाल तराई लिमिटेडको आर्थिक सहयोगमा सम्पन्न भएको हो । यस प्रणालीले वार्षिक ३० हजार किलोलिटर पानी रिचार्ज गरी यस क्षेत्रको जमिनमुनिको पानी (ग्राउण्ड वाटर) को मात्रा बढाउन मद्दत गर्ने अनुमान गरिएको छ भने यी रिचार्ज संरचनाहरू ‘ग्राउन्डवाटर रिचार्ज इन बालाजु पार्क एरिया इन द काठमाडौं मेट्रोपोलिटान सिटीः एड्रेसिङ इन्क्रिज्ड अर्बन वाटर डिमाण्ड’ नामक परियोजनाका मुख्य आउटपुटहरू हुन् । यस परियोजनाको मुख्य उद्देश्य बालाजु पार्क क्षेत्रको पानीको मात्रालाई कायम राख्दै त्यहाँका ढुङ्गेधारा, प्रसिद्ध बाइसधारा र सामुदायिक इनारको स्रोतलाई पुनर्जीवित गर्नुरहेको छ । साथै, यसले पानीको चरम अभाव सामना गर्न आवश्यक पर्ने यस्ता पहलका लागि अन्य समुदाय र स्थानीय निकायलाई जिम्मेवार बनाउने समेत अपेक्षा गरिएको छ ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौंजस्ता सहरका लागि कृत्रिम ग्राउण्डवाटर रिचार्ज अत्यावश्यक रहेको बताइन् । राजधानीमा ग्राउण्डवाटर रिचार्ज अत्यावश्यक भएको तर भवन र सडक निर्माणका कारण प्राकृतिक रिचार्ज जोनहरूमा अहिले पानीको मात्रा घट्दै गएको उनको भनाइ थियो । काठमाडौं उपत्यकाका बासिन्दाका लागि पहिलेदेखि नै खानेपानीको प्रमुख स्रोत भनेको ग्राउण्डवाटर हो । ढुङ्गेधारा, इनार र कुवाहरू मुख्य पानीका स्रोतहरू हुन्, जुन उपत्यकामा जताततै देख्न सकिन्छ । तर पछिल्लो दुई दशकदेखि चलेको ग्राउण्डवाटरको अत्यधिक उत्खनन्, अव्यवस्थित भवन र सडक निर्माणले उपत्यकाको ग्राउण्डवाटरको मुहानलाई प्रभावित गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया