Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइ–सेवाले ल्यायो नेपालमा अन्तर्राष्ट्रिय भुक्तानी सेवा

इ–सेवाले ल्यायो नेपालमा अन्तर्राष्ट्रिय भुक्तानी सेवा


काठमाडौं । नेपालमा सबैभन्दा धेरै पर्यटकहरू हाम्रो छिमेकी मित्र राष्ट्र भारतबाट नै आउने गरेका छन् । यो त हामी सबैलाई थाहा भएकै कुरा भयो । दुई ढुङ्गाबीचको तरुल भनिएको हाम्रो देश नेपालले विश्वको दुई ठूलो आर्थिक शक्तिको बीचमा रहेर राम्ररी रणनीतिक फाइदा उठाउन बाँकी नै छ । यी दुई ठूला अर्थतन्त्रबाट नेपालले जति फाइदा उठाउनु पर्ने हो वा उठाउन सक्छ, त्यसप्रति खासै धेरै कार्य भएका छैनन् । हाम्रो अर्थतन्त्रको बलियो खम्बा रहेको पर्यटन व्यवसायमा पर्यटकहरूलाई सहजता प्रदान गर्न अझै बाँकी नै छ । अन्तर्राष्ट्रिय भुक्तानी सेवा अब सुचारु भएसँगै भारतीय पर्यटकहरूलाई नेपालमा क्युआर कोडमार्फत डिजिटल कारोबारको भुक्तानी गर्नलाई सजिलो हुने भएको छ ।

फोनपे क्युआर लिएका साना तथा मझौला व्यवसाय सञ्चालन गर्ने इ–सेवा मर्चेन्टहरूलाई हाललाई यो सेवा उपलब्ध भएको इ–सेवा प्रालिले आफ्नो आधिकारिक ब्लगमार्फत जानकारी गराएको छ । नेपालको भुक्तानी सेवा सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)को अन्तर्राष्ट्रिय शाखा एनआईपीएलबीच नेपाल–भारत अन्तरदेशीय भुक्तानी सेवाको साझेदारी स्वरूप उक्त सेवा आउन लागेको हो । अहिलेलाई इ–सेवा मर्चेन्टहरूले आफ्नो साथ रहेको फोनपे क्युआरमा नै भारतीय पर्यटकहरूमार्फत भारतीय भुक्तानी सेवा प्रदायक प्लेटफर्म भीम–युपीआई र फोनपेको प्रयोगमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् । नेपालभर चार लाख ५० हजारभन्दा बढी इ–सेवाका क्युआर मर्चेन्टहरू रहेका छन् । अहिले बजारको अर्थतन्त्रमा रहेको यो आवश्यकता पूरा गरी मोर्डन डिजिटल अर्थतन्त्रमार्फत दुई देशबीचको दूरीलाई घटाउँदै सुमधुर बनाउनेमा इ–सेवा विश्वस्त रहेको जानकारी गराएको छ । हाल साना तथा मझौला व्यवसायीहरूलाई स्वचालित रूपमा यो सेवा उपलब्ध गराइएको भए पनि अन्य व्यवसायीहरूले पनि यो सेवा लिन चाहेमा इ–सेवालाई सम्पर्क गर्नलाई अनुरोध गरिएको छ ।

अन्तर्राष्ट्रिय भुक्तानीका लागि सहजता ल्याएसँगै भारतीय नक्कली नोटको प्रयोगबाट व्यवसायीहरू ठगिने क्रममा कमी आउने पनि विश्वास गरिएको छ । इ–सेवाले भने आप्mना मर्चेन्टहरूलाई उनीहरूको व्यवसायका ग्राहकलाई सहजता प्रदान गरी ग्राहक सन्तुष्टि बढ्ने धारणा राखेको छ । यसले नगद सटहीको झन्झटबाट व्यवसायीहरूलाई तथा भारतीय ग्राहकहरूलाई नगद तथा चानचुनको झन्झटबाट मुक्त गराउने विश्वास गरिएको छ । सो सेवा प्रयोग गरेबापत मर्चेन्टहरूलाई प्रतिकारोबार निश्चित न्यूनतम सेवा शुल्क भने लाग्ने पनि इ–सेवाले जनाएको छ ।

भारतीय पर्यटकले नेपालमा सहजै डिजिटल भुक्तानी गर्न पाउने भए पनि अहिलेलाई नेपाली नागरिकले भारतमा सजिलै डिजिटल भुक्तानी भने गर्न पाउने छैनन् । यससम्बन्धी कार्य भइरहेको र निकट भविष्यमा छिटै आफ्नो आधिकारिक सामाजिक सञ्जालका आधिकारिक पेजमार्फत जानकारी गराउने पनि इ–सेवाको ब्लगमा उल्लेखित छ । इ–सेवाले गत जनवरी १५ मा आफ्नो १५ औँ वार्षिकोत्सव मनाउँदै गर्दा वित्तीय समावेशीकरण तथा वित्तीय पहुँचलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय भुक्तानी सेवासँगै अन्य विविध सेवा ल्याउने पनि जानकारी गराएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया