Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसातौँ चरणको चेम्बर एक्स्पो भृकुटीमण्डपमा सुरु

सातौँ चरणको चेम्बर एक्स्पो भृकुटीमण्डपमा सुरु


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो २०२४’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । स्थानीय उत्पादन प्रवद्र्धन एवम् बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोको नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गरेका हुन् ।

एक्स्पोमा कृषि सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका वस्तुहरू प्रदर्शनीमा राखिएको छ । घर–जग्गा, खाद्य एवम् पेय पदार्थ, पहिरन, पाठ्यपुस्तक, सवारी साधन, निर्माण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू समेत प्रदर्शनीमा रहेका छन् । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक परिस्थितिका बीच अर्थतत्त्र चलायमान एवम् व्यावसायिक गतिविधि विस्तार गर्न एक्स्पो आयोजना गरिएको बताए । उनले भने, ‘मुलुकको अर्थतन्त्र सुस्त ढंगले अगाडि बढिरहेको छ, लगानीको वातावरण सिर्जना हुन सकेको छैन । एक्पोबाट आर्थिक गतिविधि केही बढ्ने अपेक्षा गरेका छौँ ।’ कृषि, हस्तकलालगायत स्थानीयस्तरमा उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन एवम् साना व्यवसायीहरूको आर्थिक गतिविधि विस्तार गर्नका लागि एक्स्पोको आयोजना गरिएको उनको भनाइ थियो । चेम्बर अध्यक्ष मल्लले एक्स्पोमा राखिएका अन्तर्राष्ट्रिय वस्तुको फिर्ती प्रक्रियालाई सहज बनाउनुपर्नेमा समेत जोड दिए ।

कार्यक्रमको उद्घाटन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री अर्यालले अर्थतन्त्रको पछिल्लो अवस्थाप्रति सरकार संवेदनशील रहेको बताए । मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा चेम्बर एक्स्पो सुरु भएको हो । एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका एक सय ६० भन्दा बढी स्टल रहेका छन् । आगामी सोमबारसम्म चल्ने एक्स्पोमा नेपाल, भारत, दक्षिण कोरिया, बंगलादेश पाकिस्तानलगायतका व्यापारीले सहभागिता जनाएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया