Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचैत अन्तिम साता ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो हुने

चैत अन्तिम साता ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो हुने


काठमाडौं । मेड इन नेपाल नारासहित आगामी चैत अन्तिम साता ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने भएको छ । ललितपुरस्थित जावलाखेल फुटबल ग्राउन्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने इन्टरनेसनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजक पक्षले जनाएको छ ।

ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन हुने इन्टरनेसनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्यान्ड, टर्की, मलेसिया, चाइनालगायतका देशहरूमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवासम्बन्धी इन्टरनेसनल ट्रेड एक्स्पोमा राखिने बताइएको छ । ललितपुर महानगरपालिका सहआयोजक रहेको सो एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स र जावलाखेल युथ क्लबको सहयोग रहने छ । इन्टरनेसनल ट्रेड एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा उपलब्ध हुने आयोजक पक्षले जनाएको छ ।

पहिलो पटक ललितपुरमा आयोजना गर्न लागेको एक्स्पोमा सहभागी राष्ट्रका प्रतिष्ठित व्यापारीहरूको सहभागिता रहने छन् । मेलाको सहयोगी संस्थाका रूपमा लक्ष्मी सनराइज बैंक र नेपाल हस्तकला महासंघ रहेका छन् । एक्स्पोले आर्थिक गतिविधिलाई बढाउनुको अतिरिक्त दुवै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरू फलदायी हुने अपेक्षा रहेको ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले बताए । सार्क मुलुकमा निर्मित सामग्रीहरूले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले अन्य मुलुकमा प्रभाव जमाएको भन्दै उनले मेलामार्फत सहभागी देशको उत्पादनको प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा राखेको बताए ।

यस्तो मेलाले सहभागी मुलुकका व्यवसायीलाई सामिप्यमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको इन्ट्रोडक्सन ट्रेड सोका म्यानेजिङ डाइरेक्टर सुमन महर्जनले बताए । मेलाको आकर्षणको रूपमा खानाको लागि विभिन्न देशका स्वादमा फुड स्टल, साना केटाकेटीहरूका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमका साथै जावलाखेल फुटबल ग्राउन्ड परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने छ । मेलामा व्यापार प्रवर्द्धनका लागि अझै पनि केही स्टल बाँकी रहेको आयोजकले जनाएको छ । नेपाल, भारत, पाकिस्तान र बंगलादेशको कुम्भ मेलामा आफ्नो ब्राण्ड प्रवर्द्धन गर्न र व्यापार गर्न चाहने फर्म तथा कम्पनीलाई स्टल राख्न आयोजकले आग्रह समेत गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया