Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदोस्रो जिरी महोत्सवमा ४० हजार बढी मानिस सहभागी

दोस्रो जिरी महोत्सवमा ४० हजार बढी मानिस सहभागी


दोलखा । दोस्रो जिरी महोत्सवको ४० हजारभन्दा बढी मान्छेले अवलोकन गरेको आयोजक संस्थाले दाबी गरेको छ । जिरी उद्योग वाणिज्य संघको आयोजनाका गत चैत २३ गतेदेखि सुरु भएको महोत्सव आइतबार सकिएको छ ।

‘नेपालको स्वीट्जरल्यान्ड सगरमाथाको प्रवेशद्वार, समृद्ध जिरी निर्माणमा अर्गानिक, कृषि, पर्यटन, संस्कृति छन् आधार’ भन्ने नारासहित सुरु भएको महोत्सवमा अनुमान गरेकोभन्दा राम्रो उपस्थिति देखिएको संघले जनाएको छ । करिब २५ हजार मानिसले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको भए पनि ४० हजारभन्दा बढीले अवलोकन गरेको संघका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । महोत्सव समग्रमा सोचेभन्दा उत्कृष्ट भएको आयोजकले जनाएको छ । जिल्लामा यसअघि आयोजना हुने महोत्सवभन्दा जिरी महोत्सव भिन्न खालको भएकाले पनि महोत्सव उत्कृष्ट बनेको संघका महासचिव अनिल कार्कीले बताए । चैत २३ गतेदेखि वैशाख २ गतेसम्म आयोजना गरिएको नयाँ वर्ष २०८१ केन्द्रित महोत्सवमा दोलखा जिल्लाबाहिरका करिब सात हजारले महोत्सवको अवलोकन गरेका थिए ।

महोत्सवले जिरीलाई मात्रै नभई सिङ्गो दोलखामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको थियो । जिरी महोत्सव आउने पर्यटक जिल्लाको अन्य पर्यटकीयस्थल कालिञ्चोक, शैलुङ, चरिकोट भीमेश्वर, हनुमन्तेलगायतका स्थानमा पनि घुम्न गएकोले महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धन र प्रचारप्रसार थप टेवा पु¥याएको आयोजकको दाबी छ । महोत्सवस्थलमा रहेका स्टलमा भने सामान्य मात्रै व्यापार भएको व्यवसायीहरूले बताएका छन् । यद्यपि जिरी बजारमा भने महोत्सवले राम्रो व्यापार भएको स्थानीय होटल व्यवसायीहरूले बताए ।

जिरीका स्थानीय बजार तथा होटलहरू महोत्सव अवधिभर चहलपहल बढेको थियो । महोत्सवले गुराँस पार्क, जिरेश्वरी मन्दिर, स्टोन पार्क, हनुमन्ते डाँडा, जिरी प्राविधिक शिलालय, गाई आनुवांशिक स्रोत केन्द्र, माछा पोखरीलगायतका क्षेत्रमा पुग्ने आन्तरिक पर्यटक समेत वृद्धि भएका थिए । महोत्सवको आम्दानी तथा खर्च विवरण आउन केही दिन लाग्ने आयोजक संस्थाले जनाएको छ । महोत्सवमा जिरीको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र पर्यटकीय क्षेत्रको सम्भावना, निजी क्षेत्रको लगानी र भावी योजनाको बारेमा प्रत्येक दिन विषय विज्ञबाट बहस समेत चलाइएको थियो । महोत्सवको समापन नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।

उद्योग वाणिज्य संघ जिरी मुख्य आयोजक रहेको महोत्सवमा दोलखाका सबै स्थानीय तह र रामेछापको गोकुलगङ्गा र उमाकुण्ड गाउँपालिका साझेदार रहेका थिए । यस्तै, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ कृषि उद्यम केन्द्र, उद्योग तथा वाणिज्य कार्यालय, प्राइम कमर्सियल बैंक, एकीकृत फ्रेन्डसिप सहकारीलगायतले महोत्सवलाई सहयोग गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया