Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर : प्रधानमन्त्री

अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर रहेको बताएका छन् । नेपाल उद्योग परिसङ्घको २१ औं वार्षिकोत्सवमा प्रधानमन्त्री दाहालले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउने बताए ।

कार्यक्रममा उनले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको बताए । यस्तै, उनले निजी क्षेत्रको समस्या अर्थतन्त्रकै समस्या भएको बताए । ‘अर्थतन्त्रमा रहेको समस्या समाधान गर्न सक्ने पूर्ण क्षमता यो सरकारमा छ’, उनले भने । लगानीमैत्री वातावरण निर्माण र परिणाममुखी कामका लागि प्रोत्साहित गर्ने काममा सरकार जिम्मेवार भएर लागिरहेको उनको दाबी थियो । यस्तै, उनले अर्थतन्त्रको सवलीकरण मात्रै नभई देखिने गरी नयाँ उत्साह र सन्देश प्रवाह गर्ने तयारीमा सरकार लागि परेको बताए । ‘उत्पादन र रोजगारीमा केन्द्रित हुने र जनतामा आत्मविश्वास पैदा गर्ने सोच र तयारीमा सरकार छ’, उनले भने, ‘सोहीअनुरूप मौद्रिक नीतिलाई समेत अगाडि बढाउने छौँ ।’ अर्थतन्त्रमा सुधार मात्र नभएर केही गुणात्मक परिणाम ल्याउन जरूरी रहेको उनको भनाइ थियो ।

पछिल्लो समय अर्थतन्त्रमा सुधारका महत्वपूर्ण सूचकहरू देखापर्दै गएको उल्लेख गर्दै उनले चालू आर्थिक वर्ष अर्थतन्त्रका लागि आशालाग्दो वर्ष हुने विश्वास व्यक्त गरे । यस्तै, प्रधानमन्त्री दाहालले विद्युत्, जस्तापाता, सिमेन्टजस्ता वस्तु निर्यातले देशको अर्थतन्त्रलाई सबल तुल्याउने बताए । पर्यटन आगमनमा उल्लेख सुधार आएको र सूचना प्रविधिको क्षेत्रले पनि आशा जगाएको बताउँदै उनले यस्ता गतिविधिले राष्ट्रिय आम्दानी र पुँजी निर्माणमा ठूलो योगदान दिने उल्लेख गरे । नयाँ वर्षको सुरुआतमा नै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्न लागेको उल्लेख गर्दै उनले विदेशी लगानी भित्र्याउन सोहीअनुरूप वातावरण निर्माणका लागि दर्जन बढी कानुन संशोधनको प्रक्रियामा रहेको बताए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीको माग सम्बोधन गर्दै औद्योगिक वातावरण बनाउन सरकार तयार रहेको बताए । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बाह्य क्षेत्र राम्रो हुँदाहुँदै पनि आन्तरिक कारण अर्थतन्त्रमा अपेक्षित सुधार आउन नसकेको बताए । बैंक तथा वित्तीय संस्थाहरूमा अर्बौं रुपैयाँ लगानी योग्य रकम हुँदा पनि बैंकहरूमा पैसा थुप्रिने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए । यस्तै, उनले मागमा आएको उच्च कमीका कारण उद्योगी व्यवसायीहरू निकै अप्ठ्यारो अवस्थामा रहेको बताए । यसको प्रभाव सबैभन्दा बढी साना तथा मझौला उद्योगहरू परेको उनले जानकारी दिए । यस्तै, उत्पादनमूलक उद्योगले समेत आफ्नो क्षमताको ४० प्रतिशत हाराहारीमा मात्रै उत्पादन गरिरहेको बताए । अर्थतन्त्रलाई अगाडि बढाउन समग्र माग बढाउने नीति लिन आवश्यक रहेको उनको भनाइ थियो ।

अर्थतन्त्रमा अस्वाभाविक संकुचन आउँदा, समग्र माग बढ्न नसक्दा उद्योग व्यवसाय बन्द हुने क्रम बढ्दै गएको भन्दै उनले यसको गम्भीर असर बैंक तथा वित्तीय संस्थाहरूको वासलातमा समेत देखिएको बताए । बैंकहरूको एनपीएल तीन दशमलव ७३ प्रतिशत पुगेको तथ्यांक प्रस्तुत गर्दै उनले कालोसूचीमा पर्नेहरूको संख्या निकै बढेको बताए । पछिल्ला केही महिनादेखि उद्योगहरूमा गरिएको अघोषित लोडसेडिङ्गले थप मर्माहत बनाएको उनको गुनासो छ । कार्यक्रममा निजी क्षेत्रमा उद्योगी व्यवसायीका छाता सङ्गठनका अध्यक्ष एवं प्रतिनिधिहरूको सहभागिता थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया