Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा


काठमाडौं । नेपाल १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ को तयारी पूरा भएको छ । आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महासंघले वैशाख २६ गते बुधबारदेखि ३० गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना गर्न लागेको छ । लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महासंघले हरेक वर्ष औद्योगिक प्रदर्शनी गर्ने गरेको छ । यस वर्षको प्रदर्शनीको मुख्य नारा ‘खोजौँ नेपाली, रोजौँ नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ भन्ने रहेको छ ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालमा लघु, घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहकका रूपमा रहेको भए पनि पुरातन प्रविधिको प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरू प्रतिस्पर्धी बन्न नसकेको बताए । सोही कारण आकर्षक प्रतिफल दिन र युवा पुस्तालाई यस उद्योगप्रति आकर्षित गर्न नसकिएको उनको भनाइ थियो । यस्तै, यसपटकको मेलामा पाँचौँ राष्ट्रिय मह मेला पनि सञ्चालन हुनेछ । नेपाल मौरीपालक महासंघ र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडसँगको सहकार्यमा अर्गानिक महका छुट्टै प्याभिलियनमार्फत प्रदर्शनी गरिने व्यवस्था गरिएको महासंघले जनाएको छ ।

यसैगरी मेलामा नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगलगायत सबैखाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी र बीटुजीजस्ता अन्तक्र्रिया, छलफल र खाना महोत्सव आदि कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ । प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहने छ । प्रदर्शनीमा दुई सय ५० वटा स्टलको व्यवस्था हुने र दुई लाखभन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । यस्तै, सात करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको छ ।

मेलामा काठ/ढुङ्गा/धातु कला, सेरामिक्स, भाँडाकुँडाहरू बाँस, बेतबाँस आदिबाट निर्मित सजावटका सामानहरू, गलैंचा, राडीपाखी पश्मिनाका वस्तुहरू तथा अन्य ऊनी कपडाहरू, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरू, नवीनतम प्रविधिहरू, नेपाली हाते कागजका वस्तुहरू, परम्परागत हस्तकलाका सामानहरू, अर्गानिक मह, कृषि तथा वनमा आधारित उत्पादनहरू, शिक्षा, पर्यटनलगायतका सेवा प्रदायक संघसंस्थाहरू, वैकल्पिक/नविकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरणहरू र अन्य औद्योगिक वस्तुहरू प्रदर्शन गरिने बताइएको छ ।

मेलाको सह–आयोजकको रूपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, काठमाडौं महानगरपालिका, चन्द्रागिरी नगरपालिका, नेपाल मौरी पालक महासंघ र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेड रहेका छन् । यस्तै, प्रवद्र्धकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल पर्यटन बोर्ड, ललितपुर महानगपालिका रहेका छन् । यस मेलाको अफिसियल बैंक कृषि विकास बैंक रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरिएको यस मेलाको व्यवस्थापन इन्ट्रोडक्सन ट्रेड सोजले गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया