Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआर्थिक संकट र समाधानका विषयमा राष्ट्रिय सम्मेलन

आर्थिक संकट र समाधानका विषयमा राष्ट्रिय सम्मेलन


काठमाडौं । नेपाली चार्टर्ड एकाउन्टेन्टहरूको छाता संगठन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)ले देशले भोगिरहेको आर्थिक संकटको समाधानका विषयमा बहस गर्न बिहीबार राष्ट्रिय सम्मेलन गर्ने भएको छ । सो सम्मेलनमा देशमा विद्यमान आर्थिक संकट र त्यसका समाधान विषयमा खास बहस हुने एक्यानले जनाएको छ । कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नेछन् । उद्घाटन सत्रमा अर्थमन्त्री वर्षमान पुन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, शिक्षामन्त्री सुमना श्रेष्ठलगायतले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको एक्यानले जनाएको छ । कार्यक्रमको दोस्रो सत्रमा बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्रलाई जोडेर विशेष बहस हुनेछ । पूर्वअर्थमन्त्री डा युवराज खतिवडा कि नोट स्पिकरका रूपमा रहने सो सत्रमा नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, नेपाल उद्योग वाणिज्य महासंघ कि पूर्वअध्यक्ष भवानी राणा, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीले विशेष बहस गर्नेछन् । सो कार्यक्रमलाई नबिल बैंक लिमिटेडका डेपुटी सीईओ मनोज ज्ञवालीले मध्यस्थतता गर्नेछन् ।

कार्यक्रमको तेस्रो सत्रमा नेपालको समृद्धिको र आर्थिक विकासका विषयमा खास बहस हुनेछ । पूर्वमन्त्री मिनेन्द्र रिजाल कि नोट स्पिकरका रूपमा रहने सो कार्यक्रममा पूर्वमन्त्री विमलाराज पौड्याल, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीश चन्द्र पोखरेल र अर्थविद् विश्वास गौचनले बहस गर्ने कार्यक्रम छ । सो कार्यक्रमलाई वरिष्ठ सञ्चारकर्मी दिलभूषण पाठकले मध्यस्थता गर्नेछन् । कार्यक्रम नेपालले भोगिरहेको आर्थिक संकटको समाधानको दिशा देखाउने काममा उल्लेखनीय हुने विश्वास एक्यानले जनाएको छ ।

सो कार्यक्रममा देशका विभिन्न बैंक तथा वित्तीय संस्थाका सीईओहरू, विभिन्न कर्पोरेट हाउसका प्रमुखहरू, बीमा कम्पनी तथा सरकारी निकायका प्रतिनिधिहरू तथा नेपालका चार्टर्ड एकाउन्टेन्टहरूको उल्लेखनीय सहभागिता हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया