Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी

ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी


दमौली । आँबुखैरेनी गाउँपालिका–३ की रितु थापामगर घरधन्दा सकेर ढाका बुन थाल्छिन् । चार वर्ष अगाडि ढाका बुनाइसम्बन्धी तीन महिने तालिम लिएर उनी यही व्यवसायमा लागेकी हुन् । ‘तालिम लिएपछि घरमै पाँच महिना कपडा बुनेँ । फेरि दुई महिना दमौली आएर थप तालिम लिएँ’, उनले भनिन्, ‘त्यसपछि निरन्तर यही पेसामा छु ।’

फुर्सदको समय सदुपयोग गर्दा कामसँगै दाम कमाउन सकिने उनको भनाइ छ । व्यवसाय थालेपछि अरूसँग पैसा माग्नुपर्ने बाध्यता हटेको उनले बताइन् । ‘पैसा चाहिँदा अरूसँग माग्नुभन्दा आफैँले कमाउन थालेपछि धेरै सहज भयो । घरायसी कामसँगै ढाका बुन्न सकिने भएकाले अरूलाई पनि उद्यम गर्न आग्रह गर्छु’, उनले भनिन् । उनका अनुसार ढाका उत्पादनका लागि आवश्यक कच्चापदार्थ काठमाडौंबाट ल्याउने गरिएको छ । धागो ल्याएर मागअनुसार ढाका बुन्ने गरेकी उनले अहिले सारीको माग धेरै भएको जानकारी दिइन् । उनका अनुसार ढाकाबाट पछ्यौरा, चोली, कोट, मफलर र कुर्तासुरुवाल बनाउन सकिन्छ ।

थापाका अनुसार एउटा सारीका लागि ढाका तयार गर्न तान, धागोलगायत सबै गरी तीन हजार रुपैयाँसम्म खर्च हुने गरेको छ । सो सारी आठ हजारदेखि १२ हजार रुपैयाँसम्ममा बिक्री हुने उनले बताइन् । एउटा सारी बनाउन कम्तीमा १२ दिन लाग्ने गर्छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले व्यवसायी बन्न चाहनेलाई गाउँपालिकाले सहयोग गर्ने बताए । हरेक व्यक्ति उद्यमी बन्न सके मात्रै समृद्धि हासिल हुने भएकाले त्यस्ता व्यक्तिले उद्यम गर्न चाहे गाउँपालिकाको सहयोग गर्ने उनको भनाइ छ ।

यता दमौलीमा ढाका उद्योग सञ्चालन गर्दै आएका विष्णु चौधरीले बाबुबाजेको पेसा अपनाएर उद्यमी बनेका छन् । व्यास नगरपालिका–२ मा विसं २०६६ माघमा स्थापना भएको निखिल ढाका कपडा उद्योगमार्फत उनी सफल उद्यमी बनेका हुन् । ढाकाबाट पहिले टोपी र चोलीमात्र बन्ने गरे पनि अहिले अन्य कपडा बन्न थालेपछि ढाका व्यवसाय फस्टाएको उनको भनाइ छ । ग्राहकको मागसँगै ब्लाउज, टोपी, पछ्यौरा, चौबन्दी, दौरा सुरुवाल, पाल्पाली ढाका टोपी, तेह्रथुमे साडीको राम्रो व्यापार हुने गरेको चौधरीले बताए । उनको उद्योगबाट उत्पादित ढाकाका सामग्री यहाँ मात्र सीमित छैनन् । जिल्लाकै ग्रामीण भेग, लमजुङ, गोरखा, तेह्रथुम, नारायणगढ, नवलपरासी, काठमाडौंलगायतका ठाउँबाट माग हुने गरेको छ । यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले पनि ढाकाको कपडा किन्ने गरेका छन् । ढाका कोसेली लैजाने संस्कारको विकास गराउन सके व्यापार अझै बढ्ने उनले बताए ।

जिल्लामा ढाका बुनाइतर्फ आकर्षण बढेसँगै पर्यटन तथा उद्योग कार्यालय तनहुँले दुई महिने निःशुल्क ‘एड्भान्स’ ढाका बुनाइ तथा डिजाइन तालिम सुरु गरेको छ । युवायुवतीलाई उद्यमसँग जोड्ने उद्देश्यले वार्षिक कार्यक्रमबमोजिम तालिम सञ्चालन गरिएको निमित्त प्रमुख सुवास पौडेलले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x