Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगश्रीराम चिनी मिल सञ्चालन गर्न कार्यदल

श्रीराम चिनी मिल सञ्चालन गर्न कार्यदल


काठमाडौं । रौतहटस्थित श्रीराम चिनी मिल सञ्चालनका विषयमा देखिएका समस्या समाधानका लागि कार्यदल गठन गरिएको छ । लामो समयदेखि बन्द रहेको सो मिल सञ्चालनमा ल्याउनका लागि सांसद किरण साहको नेतृत्वमा बुधबार पाँच सदस्यीय कार्यदल गठन गरिएको हो । सो कार्यदलमा चिनी मिलका तर्फबाट हितेश गोल्छा र विशाल अग्रवाल, किसान सङ्घर्ष समितिका अध्यक्ष अशोककुमार यादव तथा मन्त्रालयको औद्योगिक प्रवर्द्धन महाशाखा प्रमुख रहेका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको कार्यकक्षमा भएको त्रिपक्षीय छलफलपछि सो कार्यदल गठन गरिएको हो । मन्त्री भण्डारीले बजेट अगाडि सञ्चालनका विषयमा देखिएका समस्या समाधानका लागि ठोस योजना ल्याउन कार्यदललाई आग्रह गरेका छन् । साथै, उनले उद्योगलाई अन्यत्र सार्नुभन्दा सोही स्थानमा सञ्चालन गर्न सुझाव दिए । एक हप्ताभित्र सो उद्योगका समस्याको टुङ्गो लगाउन समेत उनले आग्रह गरे । ‘बन्द उद्योग सञ्चालन गर्ने सरकारको उद्देश्य छ, हामी यो चिनी मिललाई बन्द गर्न वा सार्न भन्दैनौँ, बरु सञ्चालनका लागि के गर्न सकिन्छ त्यसमा मन्त्रालयबाट आवश्यक सहयोग रहन्छ’, उनले भने ।

मिल सञ्चालनका लागि गर्नुपर्ने सहयोगका लागि आफू प्रतिबद्ध रहेको उनले बताए । यस विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग आवश्यक सहजीकरणका लागि पहल गर्ने उनको भनाई थियो । छलफलमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान, सांसद विनादेवी साह, संविधानसभा सदस्य रामकुमार भट्टराई, कल्याणी खड्कालगायतले बन्द उद्योग सञ्चालन गर्नका लागि मन्त्री भण्डारीलाई मन्त्रालयका तर्फबाट आवश्यक पहलकदमीका लागि आग्रह गरेका थिए । उक्त उद्योग अन्यत्र सारिए रौतहटका किसानले चर्को आन्दोलन गर्ने चेतावनी दिइसकेकाले अहिले रहेकै ठाउँमा सञ्चालनको वातावरण बनाउनुपर्ने उनीहरूको जोड थियो ।

छलफलमा सभापति खानले सोही स्थानमा उद्योग सञ्चालनका लागि स्थानीय किसानबाट हुने सबै किसिमको सहयोग जुटाउने प्रतिबद्धता जनाएका थिए । उद्योग बन्द हुँदा धेरैको रोजगारी गुमेको र त्यही स्थानमा सञ्चालन हुँदा स्थानीय जनताले थुप्रै अवसर पाउने उनले बताए । छलफलमा उद्योग सचिव कृष्ण राउत, वाणिज्य सचिव दिनेशकुमार घिमिरे, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सिइओ)लगायत स्थानीय सरोकारवाला र उद्योगका प्रतिनिधि सहभागी थिए । विसं २०४९ सालमा स्थापित सो उद्योग २०७७ सालदेखि बन्द अवस्थामा रहेको छ । झण्डै ७४ बिघा क्षेत्रफलमा रहेको सो उद्योगको नेपाल बैंक लिमिटेडले लिलामी सूचना निकालेर रानाकुमार अग्रवालले साकार गरेका छन् । जग्गाको भने लिलाम गरिएको छैन ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x