Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक’

‘जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक’


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवम् प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् । ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण पर्वतीय देशहरूमा देखापरेका समस्या सम्बोधन हुनुपर्ने बताए ।

जलवायु परिवर्तनमा नेपालजस्ता देशहरूको योगदान न्यून भए पनि त्यसको असर भयावह रहेको उनको भनाइ थियो । ‘हामीमाथि गरिएको यो भयावह अन्यायका कारण हाम्रा देशका नागरिक र पर्वतीय पारिस्थितिकी प्रणाली जलवायु–प्रेरित प्रकोपले गम्भीररूपमा प्रभावित भएका छन्,’ उनले भने । यस्तै, उनले समान र पारदर्शी तवरले हानि र क्षति कोषको पूर्णसञ्चालन गर्ने विषयले प्राथमिकता पाउनुपर्नेमा जोड दिए । पर्वतमा बसोबास गर्ने सबैभन्दा कमजोर महिला, युवा, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जनजाति र स्थानीय समुदायलाई जलवायु कार्यको प्राथमिकतामा राख्न उनले आग्रह गरे । नेपालले पेरिस सम्झौताप्रति पूर्णप्रतिबद्धका साथ विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्षअघि सन् २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जन गर्ने लक्ष्य राखेको पनि उनले जानकारी दिए ।

यस्तै, उनले स्वच्छ ऊर्जा सुरक्षित गर्न जलविद्युत् सम्भावनाको पूर्णउपयोग गर्ने बताए । विश्वव्यापी लक्ष्यभन्दा पहिले नै ४५ प्रतिशत वन क्षेत्रको जमिन सुरक्षित गर्न उनले दाबी गरे । जलवायु परिवर्तनले ल्याउने साझा चुनौतीको सामना गर्न सहकार्य गर्नुपर्ने आवश्यकता समेत उनले औँल्याए । यस्तै, उनले उच्च पर्वतीय क्षेत्रमा बसोबास गर्दै आएका समुदाय जलवायु परिवर्तनको सबैभन्दा जोखिममा रहेको बताए । अर्थतन्त्र, कृषि, पर्यटन, जलविद्युत् र भौतिक पूर्वाधारजस्ता जलवायु संवेदनशील क्षेत्रमा परेको खराब असरका कारण पर्वतीय समुदाय र पारिस्थितिक प्रणालीमा नकारात्मक प्रभाव देखिएको उनको भनाइ थियो ।

स्रोतहरूमा आएको कमी, उत्पादन र उत्पादकत्वमा घट्दोक्रम एवम् यहाँका बासिन्दा संस्कृति, सम्पदा, ज्ञान र अभ्यासको विस्थापनबाट जलवायु प्रेरित प्रकोप र अन्य प्रभावले पर्वतीय क्षेत्रका जनताको जीविकोपार्जनलाई गम्भीर असर पु¥याएको उनले बताए । मुख्यतया मौसममा आधारित जीविकोपार्जनमा निर्भर रहने गरिब, महिलासँग परिवर्तनको सामना गर्ने जानकारी, स्रोत र क्षमताको कमी भएका कारण जलवायु परिवर्तनले नराम्रो असर पारिरहेको उनको भनाइ छ ।

पर्वतीय समुदाय र पारिस्थितिकीय प्रणालीमा परेको प्रभावका बारेमा बढ्दो चिन्ता र चासो समाधानका लागि एकीकृत पर्वतीय आवाजको तत्काल सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए । यस्तै, उनले तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्न, पारिस्थितिकीय प्रणालीको विविधता, स्थिरता र स्थायित्व बढाउन तथा स्थानीय आवश्यकतामा ध्यान जानुपर्ने बताए । पर्वतीय मुद्दालाई अगाडि बढाउन र त्यस क्षेत्रमा परेका गम्भीर असर न्यूनीकरणका लागि दिगो समाधान खोज्न विश्वव्यापी सहमति र समर्थनसहित दीर्घकालीन यात्रा तय गर्नुपर्नेमा पनि उनको जोड थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x