Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगतामाकोशी आयोजनाको बाँधस्थल परीक्षण आजबाट

तामाकोशी आयोजनाको बाँधस्थल परीक्षण आजबाट


सुबास बस्नेत
दोलखा, चैत ३
दोलखाको उत्तरी क्षेत्र बिगु गाउँपालिकाको लामाबगरमा निर्माणाधीन अवस्थामा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधस्थलको परीक्षण आज सोमबारबाट सुरु गरिने भएको छ । चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको प्राविधिक परीक्षण गर्न करिब तीन साता लाग्ने आयोजनाले जनाएको छ ।

आयोजनाको बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट र स्टपलग लगायत अन्य हेडवक्र्सका संरचनाहरुको प्राविधिक परीक्षण सोमबारबाट सुरु भई चैत २२ गतेसम्म हुनेछ । यस अवधिमा आयोजनाको जलाशय तथा बालुवा थिग्राउने पोखरीमा पानी भर्ने काम गरिनेछ । यसको लागि नदीको पानी रोक्ने र छोड्ने गरिरहनुपर्ने भएकाले नदी किनारका बासिन्दालाई सुरक्षित रहन आयोजनाले सूचना जारी गरेको छ ।

परीक्षणको लागि कुनै बेला एकैपटक ठूलो मात्रामा पानी छोड्नुपर्ने भएकोले बाँधभन्दा तल्लो तटीय क्षेत्रअन्तर्गत तामाकोशी नदीको किनारमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, मन्थली, टुनीटार, जामुने, भोर्ले र सिंगटी बजारसम्म तामाकोशी नदीमा पानीको सतह बारम्बार धेरै घटबढ भइरहने आयोजनाले जनाएको छ ।

दोलखाको सिंगटी बजारदेखि सिन्धुलीको खुर्कोटमा पर्ने तामाकोशी र सुनकोशी नदीको दोभानसम्म तामाकोशी नदीको पानीको सतह घटबढ भइरहने भएकोले तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगाधुने वा वस्तुभाउ लैजानेजस्ता काम नगर्न आयोजनाले अनुरोध गरेको छ । यससम्बन्धी सूचना तामाकोशी–सुनकोशी दोभानसम्म तामाकोशी नदीले छुने सबै पालिका तथा दोलखा र रामेछाप जिल्लाका जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पठाइसकिएको आयोजनाले जनाएको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले कुनै बाधा–व्यवधान नआए विसं २०७७ साल असार मसान्तभित्र विद्युत् उत्पादन हुने बताएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x