Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगव्यावसायिक संक्रमणकाल घोषणा गर्न माग

व्यावसायिक संक्रमणकाल घोषणा गर्न माग


नेपालगञ्ज, चैत ५
नेपालगञ्ज उद्योग वाणिज्य संघले कोरोना भाइरस प्रभावित अर्थतन्त्रलाई जोगाउन व्यावसायिक संक्रमणकाल घोषणा गर्न माग गरेको छ । उद्योगधन्दा, कलकारखाना, व्यापार, व्यवसाय र सर्वसाधारणको दैनिक जीवनमा समेत प्रतिकूल असर पार्ने कोरोना भाइरस प्रभावित समयसम्मका लागि व्यावसायिक संक्रमणकालको घोषणा गरी सहुलियत प्रदान गर्न संघले सरकारको गम्भीर ध्यानार्कषण गराएको हो । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले विज्ञप्ति जारी गर्दै विश्वभर फैलिएको कोरोना भाइरसका कारण सम्पूर्ण जनमानसमा त्रास उत्पन्न भएको र अर्थतन्त्रमा गम्भीर धक्का पुग्ने अवस्था सिर्जना भएको बताएका छन् ।

‘कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पारेको प्रभावले पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज पनि अछूतो छैन । नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० समेत स्थगन गरिसकेको अवस्था छ । पूर्वसावधानीका कारण आयात निर्यात कार्य लगभग ठप्पजस्तो हुँदै छ भने राज्यभित्र सन्चालनमा रहेको उद्योग व्यवसाय समेत धरासायी बन्न सक्ने भयावह अवस्था हामीसामु देखिँदै छ’, संघको विज्ञप्तिमा भनिएको छ ।
राज्यले अंगीकार गरेको नीति, नियमलाई आत्मसात् गरी व्यवसाय सञ्चालन गर्दै आइरहेका उद्योगी, व्यवसायीहरुले उद्योग कलकारखाना तथा व्यवसाय सञ्चालनार्थ लिएको ऋणको ब्याज तिर्न हालको र अवको परिस्थिति अनुकूल नदेखिएको बताउँदै संघले एकातर्फ आवतजावत, सभा सम्मेलन एवं सामूहिक क्रियाकलापहरु नगर्न सरकारका तर्फबाट अनुरोध भएको अवस्था छ भने अर्कोतर्फ कच्चा पदार्थ आयातमा कठिनाइ तथा वित्तीय संस्थाबाट लिएको ऋण ब्याज समयमै तिर्नुपर्ने बाध्यकारी व्यवस्थाका कारण व्यवसायी निराश भएको संघले बताएको छ ।

साथै चैतसम्म बुझाउनुपर्ने दोस्रो किस्ताबापतको आयकर तिर्नसम्म नसक्ने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ । नेपालगञ्जसँग सीमा जोडिएको भारतको उत्तरप्रदेश राज्यमा समेत कोरोनाको संक्रमण बढ्दै गएको परिस्थितिमा सचेत र सजग बन्दै खुल्ला सीमाना हुँदै नेपाल भित्रिने नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधानलाई अझ प्रभावकारी बनाउनका लागि अपिल गर्दै संघले कोरोना भाइरसको संक्रमण रोक्ने सरकारी अभियानमा पूर्ण साथ र समर्थन रहने संघले जनाएको छ ।

साथै दैनिक उपभोग्य सामग्रीहरु सर्वसुलभ रुपमा उपलब्ध गराउन र कुनै प्रकारको समस्या सिर्जना हुन नदिनु हुन सम्पूर्ण उद्योगी, व्यवसायीलाई अपिल गरेको छ । उपभोक्ता वर्गले अभाव हुने आशंकामा आवश्यकताभन्दा बढी खरिद र भण्डारण नर्गन पनि संघले आह्वान गरेको छ । यस्तै होटल व्यवसायी संघ, बाँकेका अध्यक्ष भिमलाल कँडेलले एक प्रेस विज्ञप्ति जारी गरी सहुलियत दिन माग गरेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x