Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलसँगको सहकार्यमा १६औँ दरबारमार्ग सडक महोत्सव

एनसेलसँगको सहकार्यमा १६औँ दरबारमार्ग सडक महोत्सव


काठमाडौं । नेपाली नयाँ वर्ष २०८० को अवसरमा शनिबार काठमाडौंको दरबारमार्गमा आयोजित एनसेल प्रिजेन्टस १६औँ दरबारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्यरूपमा सम्पन्न भएको छ ।

‘नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम’ भन्ने नाराका साथ यो महोत्सव आयोजना गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ, दरबारमार्ग विकास बोर्ड र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले एनसेलसँग महासंघको विशेष सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँती, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ, दरवारमार्ग विकास बोर्ड र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)का पदाधिकारीहरूले संयुक्तरूपमा महोत्सवको उद्घाटन गरेका थिए ।

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पु-याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने, नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने, काठमाडौं महानगरपालिकाभित्रको सांस्कृति प्रवद्र्धन एवं संरक्षणमा सहयोग गर्ने यस महोत्सवको मूल उद्देश्य रहेको थियो । काठमाडौं उपत्यकाभित्रका संस्कृति झल्कने प्रस्तुतीका साथ महोत्सवको शुभारम्भ भएको थियो । गीतसंगितका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरू र महोत्सव आयोजना गरिएको क्षेत्रमा विविध रमाइला गतिविधिहरूसहित यो महोत्सव उत्साहका साथ बेलुका ९ बजेसम्म आयोजना गरिएको थियो । कार्यक्रम सुरु भएदेखि बेलुकासम्म एक लाख ५० हजारभन्दा बढी मानिसहरूले महोत्सवमा भाग लिएका थिए ।

यस महोत्सवमा चर्चित गायकगायिका, कलाकार तथा सांगीतिक समूहहरूले आ–आफ्ना प्रस्तुती रहेका थिए । कुटुम्ब, दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, पहेँलो बत्तीमुनि, त्रिशाला गुरुङ, आविष्कार केसी, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टसले उपस्थित दर्शक तथा आगन्तुकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । यसका साथै महोत्सवमा शारीरिकरूपमा भिन्न क्षमता भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका वस्तुहरू र महिला उद्यमीसहित हस्तकला उद्यमीहरूबाट उत्पादित वस्तुहरूका पनि प्रदर्शनीमा राखिएका थिए । बालबालिकाका लागि विभिन्न आकर्षक गेमहरूसहित छुट्टै किड्स जोनको विशेष व्यवस्था गरिएको थियो भने विभिन्न नेपाली खानाका परिकारहरू र स्वदेशी उत्पादनहरूको विशेष प्रदर्शन÷प्रस्तुतिका स्टलहरू महोत्सवको आकर्षणमा रहेको थियो ।

यसैगरी महोत्सवमा भिडिओ गेमका पारखीहरूका लागि अनलाइन गेमिङ प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । महोत्सवमा आउने सबैका लागि फोटो तथा भिडियो बनाउन टिकटक बुथ र डिजे बुथ पनि राखिएका थिए । महोत्सव काठमाडौं महानगरपालिका र नेपाल पर्यटन बोर्डको विशेष सहयोगमा आयोजना भएको हो । सहप्रायोजकमा काल्र्सबर्ग र अन्य सहयोगी संस्थामा कुनु नेपाल र एनडिज आइसक्रिम रहेका थिए । पछिल्लो पटक देखिएको तरलता संकटलगायत विविध कारणले थलिएको अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरुत्थान, नवउत्थानमा लैजान सकिन्छ भनी निरन्तर काम भइरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरूको रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया