Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोरोना कोषमा टेलिकमको १२ करोड सहयोग

कोरोना कोषमा टेलिकमको १२ करोड सहयोग


काठमाण्डौं,चैत २१

नेपाल टेलिकमले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीहरुका तर्फबाट २ करोड रुपैयाँ प्रदान गरिएको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आयोजित एक समारोहमा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको उपस्थितिमा प्रधानमन्त्री कार्यालयका सचिव तथा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका सदस्य–सचिव नारायण प्रसाद बिडारीलाई नेपाल टेलिकमका प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले १२ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्रीद्वय खतिवडा र भट्टले प्राप्त आर्थिक सहयोगप्रति कृतज्ञता प्रकट गर्दै यस विषम परिस्थितिमा सबैलाई सचेत रहन आग्रह समेत गरे । सो अवसरमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव तथा कम्पनी सञ्चालक समिति सदस्य राधिका अर्याल र कम्पनीका प्रमुख वित्तीय तथा प्रमुख मानव संसाधन अधिकृत शैलजा राईको पनि उपस्थिति रहेको थियो । हाल नोबेल कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिरहेको र नेपाल पनि उक्त भाइरस संक्रमणको उच्च जोखिममा रहेको अवस्थामा नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा कम्पनीले आर्थिक सहयोग गरेको हो ।

टेलिकमको भ्वाइस तथा डाटा सेवामा विशेष महसुल दर तथा प्याकेज
मुलुकमा हाल कायम रहेको लकडाउनको अवस्थामा नेपाल टेलिकमले भ्वाइस तथा डाटा सेवामा विशेष महसुल दर तथा प्याकेज ल्याएको छ ।कम्पनीले विहीबारदेखी आगामी बुधबारसम्म लागू हुने गरी उक्त प्याकेजहरु ल्याएको हो । सरकारले डाटा सेवामा २५ प्रतिशत छुट दिने निर्णय गरेअनुसार टेलिकमले जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको व्यवस्था गरेको छ । यस अनुसार जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी कर सहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा लागू हुनेछ । यस्तै सेवाहरू सुपथ मूल्यमा उपलब्घ गराउने क्रममा टेलिकमले जीएसएम सेवामा डाटा प्याक उपलव्ध गराउने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो प्याकेजमा १ सय रुपैयामा १ जीबी डाटा खरिद गर्दा ३ जीबी बोनसस्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ । यसैगरी दोस्रो प्याकेजमा २ सय रुपैयामा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरूप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ७ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ ।

यसरी १ सय रुपैयाँमा बोनससहित कुल ४ जीबी र २ सय रुपैयाँमा बोनस सहित कुल १० जीबी डाटा प्राप्त हुनेछ ।यसैगरी कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छुट उपलव्ध गराउने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि २५ रुपैयाँमा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ । यसैगरी दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि एक सय रुपैयाँमा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी २५ रुपैयाँमा एक दिनका लागि बोनस सहित ६० मिनेट र एक सय रुपैयाँमा ७ दिनका लागि बोनससहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ । यूएसएसडी र नेपाल टेलिकम एपबाट खरिद गर्न सकिने उक्त डाटा तथा भ्वाइस प्याकहरु स्टे कनेक्टेड अफरको रुपमा उपलब्ध हुनेछ । यूएसएसडीबाट खरिद गर्न स्टार१४१५स्टार१०ह्याक्स डायल गर्नुपर्दछ । साथै कम्पनीको वेबसाइटबाट पनि प्राप्त गर्न सकिनेछ ।यसका अतिरिक्त कम्पनीको ल्यान्डलाइन सेवाको महसुल ढिलो भुक्तानी भएमा जरिवाना लाग्ने व्यवस्था भएकोमा यही फाल्गुन र चैत महिनाको महसुल वापत हुने जरिवाना नेपाल सरकारको गत चैत्र १६ को निर्णयका आधारमा कम्पनीले आगामी बैशाख मसान्तसम्मको लागि मिनाहा गर्ने निर्णय गरेको छ । साथै, पूर्ण लकडाउनको अवधिमा कम्पनीका एडीएसएल र एफटीटीएच लगायत वाइम्याक्स सेवाका ग्राहकवर्गलाई सेवा निरन्तर उपलव्ध गर्न यस अवधिमा समयावधि सकिएका लाइनहरुको म्याद लकडाउन अबधिभरका लागि थप गर्ने निर्णय गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया